तेहरान, १७ फागुन । इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनीको निधन भएको इरानको राज्य टेलिभिजनले आधिकारिक रूपमा पुष्टि गरेको छ। ८६ वर्षीय खामेनीको मृत्युको खबर सार्वजनिक भएसँगै इरान सरकारले देशभर ४० दिनको राष्ट्रिय शोक र सात दिनको सार्वजनिक बिदा घोषणा गरेको छ।
खामेनीको मृत्युलाई लिएर सुरुमा केही अन्योल देखिएको थियो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ट्रुथ सोसल मार्फत खामेनी मारिएको दाबी गरेका थिए।
इरानी विदेशमन्त्री अब्बास अराघचीले एनबीसी न्यूजसँग कुरा गर्दै आफ्ना नेता पूर्ण रूपमा सुरक्षित र स्वस्थ रहेको भन्दै ट्रम्पको दाबीलाई गलत बताएका थिए।
अन्ततः इरानको सरकारी टेलिभिजनका प्रस्तोताले भावुक हुँदै खामेनीको मृत्यु भएको जानकारी दिए। फार्स न्यूज एजेन्सीका अनुसार, खामेनी शनिबार बिहान सबेरै आफ्नै कार्यालयमा ‘आफ्नो जिम्मेवारी पूरा गरिरहेको अवस्थामा’ मारिएका हुन्।
सन् १९८९ देखि इरानको सर्वोच्च पदमा रहेका खामेनी इस्लामिक गणतन्त्र इरानका संस्थापक आयतुल्लाह रुहोल्लाह खोमेनीका उत्तराधिकारी हुन्।
इरानको सेना, न्यायपालिका र सरकारका हरेक निर्णयमा उनको अन्तिम अधिकार रहन्थ्यो।
आफ्नो शासनकालमा उनले पश्चिमा देशहरू, विशेषगरी अमेरिका र इजरायलसँग कडा शत्रुतापूर्ण सम्बन्ध राखे। उनले अमेरिकालाई इरानको ुनम्बर एक शत्रुु घोषणा गरेका थिए।
उनको शक्तिको मुख्य खम्बा इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स र बासिज अर्धसैनिक बल मानिन्थ्यो।
खामेनीले इरानको आणविक कार्यक्रम शान्तिपूर्ण प्रयोजनका लागि मात्र भएको दाबी गर्दै आए पनि इजरायल र अमेरिकाको ट्रम्प प्रशासनले उनलाई आणविक हतियार बनाउन खोजेको आरोप लगाउँदै आएका थिए।
जुन २०२५ को १२ दिने युद्ध र फेब्रुअरी २८, २०२६ मा भएको पछिल्लो आक्रमणले मध्यपूर्वमा तनाव उत्कर्षमा पुर्याएको थियो। इजरायली रक्षामन्त्री इजरायल काट्जले खामेनीलाई ‘आधुनिक हिटलर’ को संज्ञा दिँदै उनलाई सत्ताबाट हटाउनु इजरायलको प्रमुख उद्देश्य भएको बताएका थिए।
फेब्रुअरी २८ को आक्रमणमा इजरायली अधिकारीहरूले खामेनी र इरानी राष्ट्रपति मसुद पेजेस्कियानलाई लक्षित गरिएको स्वीकार गरेका छन्। खामेनीको यो अवसानले मध्यपूर्वको राजनीतिमा अब कस्तो मोड लिनेछ भन्नेमा विश्वको ध्यान केन्द्रित भएको छ।