२८ वैशाख २०८३, सोमवार

कचनकबलको सिमखेतमा ‘सेतो सुन’को खेती

२८ वैशाख २०८३, सोमवार
Image

झापा, २८ बैशाख । मुलुकको सबैभन्दा होचो भू–भागका रूपमा परिचित झापाको कचनकबलका सिमखेतहरूको गरागरामा टिलपिल पानीमाथि यतिबेला चैते धानका बाला होइन, कमल फूलका जस्तै फराकिला र काँडेदार हरिया पातहरू तैरिइरहेका छन् । यो दृश्य हो– कोशी प्रदेशमै पहिलोपटक व्यावसायिक रूपमा सुरु गरिएको ‘मखना’ अर्थात् ‘सेतो सुन’ खेतीको ।

कचनकबल गाउँपालिका वडा नं. ४ का ६३ वर्षीय जेलेल मियाको जीवनका धेरै वसन्तहरू यही सिमखेतमा धान रोप्दै र काट्दै बिते । तर, यसपालि उहाँले आफ्नो सात बिगाहा जग्गामा चैते धान खेती गर्नु भएन । वर्षको प्रति बिगाहा ३० मन धान पाउने शर्तमा उहाँले आफ्नो जग्गा भाडामा दिनुभयो । 

“वर्षौदेखि धान र मकैको खेती गर्दै आएको थिएँ,” उहाँ भन्नुहुन्छ– “यसपालि मखना खेती गर्छु भन्दै आउनेलाई जग्गा दिएँ । नयाँ खेती अरे, हेरौँ कस्तो हुँदोरहेछ ।” जेलेल मात्र होइन, सोही वडाका बाहिल आलमले पनि आफ्नो १५ कठ्ठा जग्गा झापा गाउँपालिका–४ का शाहिल शेखलाई मखना खेतीका लागि भाडामा दिनु भएको छ । 

स्थानीय किसानहरूका लागि यो एक प्रकारको प्रयोग हो भने व्यवसायीका लागि ठूलो सम्भावनाको ढोका । मखना खेती यहाँका बासिन्दाका लागि नौलो भएकाले सबैलाई यसको सम्भावना बारे  कौतुहलता छ । विर्तामोडका जनक खड्काले त झन् आफ्नो २० बिगाहा जग्गा यही मखना खेतीका लागि दिनु भएको छ । यसरी धेरै किसानबाट भाडामा लिइएको सय बिगाहा जमिनमा अहिले मखनाको खेती विस्तार भइसकेको छ ।

कचनकबलमा मखना खेती भित्राउने श्रेय शाहिल शेखलाई जान्छ । उहाँले भारतको पूर्णियामा रहेका आफ्ना नातेदारसँग साझेदारी गरेर कचनकबलमा यो नौलो कृषि व्यवसायको थालनी गर्नु भएको हो । नेपालमा मखनाको व्यावसायिक खेतीको इतिहास खासै नभएका बेला शेखले सय बिगाहाभन्दा बढी जग्गा भाडामा लिएर ठूलो लगानी गर्नु भएको छ ।

दुई महिना अघिदेखि रोप्न सुरु गरिएको मखना अहिले खेतका गराहरूमा कतै वयस्क हुँदैछ भने  कतै भर्खर पात पलाउँदैछ । डिप बोरिङ गरेर खेतमा निरन्तर सिञ्चाइको व्यवस्था गरिएको छ, किनकि मखनालाई गरामा निरन्तर भरिएको पानी चाहिन्छ । शेखका अनुसार, भारतमा मखना प्रति किलो रु. एक हजारभन्दा बढीमा बिक्री हुन्छ । एक बिगाहा जमिनमा झण्डै एक सय केजी मखना उत्पादन हुने उहाँको अनुमान छ । यदि यो अनुमान सही ठहरियो भने, कचनकबलको सिमखेतले धानको तुलनामा कयौँ गुणा बढी आर्थिक लाभ दिने निश्चित छ ।

मखना, जसलाई अंग्रेजीमा ‘फक्स नट’ वा ‘लोटस सिड’ पनि भनिन्छ । यो एक प्रकारको जलीय बिरुवा हो । कमलको फूलजस्तै देखिने यसको बोटमा काँडेदार पातहरू हुन्छन् र यसको दानादार फल पानीमुनि फल्छ । स्वास्थ्यको दृष्टिकोणले मखनालाई ‘सुपरफुड’ मानिन्छ । सेतो दाना हुने र बजार भाउ उच्च भएकाले यसलाई ‘सेतो सुन’ भनिएको हो । 

धानखेतीमा जस्तै माटो हिल्याएर मखनाको बीउ र विरुवा रोप्ने कार्य गरिन्छ । पानी सुक्यो भने मखनाको बोट र पातहरुमा असर पर्ने भएकाले खेती गरिएको मिसखेतमा बैकल्पिक सिञ्चाइको भरपर्दो व्यवस्था मिलाइएको  हुन्छ ।

यसमा प्रोटिन, फाइबर, पोटासियम र म्याग्नेसियम प्रचुर मात्रामा पाइन्छ । मधुमेह, मुटु सम्बन्धी समस्या भएका र तौल घटाउन चाहनेहरूका लागि यो अमृत समान मानिन्छ । यसमा कोलेस्टोरलको मात्रा शून्य हुन्छ । नेपालमा हाल मखना पूर्ण रूपमा भारतबाट आयात हुन्छ । भुटेर बनाइने ‘मखना फुल’ खाजाका रूपमा र पूजाआजामा प्रसादका रूपमा निकै लोकप्रिय छ ।

मखना खेतीले जग्गाधनीलाई मात्र होइन, स्थानीय मजदुरहरूलाई पनि नयाँ रोजगारी दिएको छ । काँडेदार पातका बीचबाट पानीमुनि फल्ने दाना टिप्नु, रोप्नु र गोडमेल गर्नु चुनौतीपूर्ण काम हो । यसका लागि भारतबाट दक्ष प्राविधिकहरू ल्याइएका छन् भने उनीहरूलाई सघाउन स्थानीयले पनि काम पाएका छन् । स्थानीय मजदुरले दैनिक रु. ६०० देखि ९०० सम्म पारिश्रमिक पाइरहेका छन्, जसले गाउँको अर्थतन्त्रलाई थप चलायमान बनाएको छ ।

स्थानीय ५९ वर्षीय राहिबुद्दिन मियाँ यस खेतीलाई कौतूहलका साथ नियालिरहेको बताउनुहुन्छ । “भारतबाट बीउ र प्राविधिक आएका छन्,” उहाँ भन्नुहुन्छ– “राम्रो फाइदा हुने देखियो भने अर्को वर्षदेखि हामी आफैँ पनि यो खेती गर्न सिक्नेछौँ ।”

कुनै पनि नयाँ सुरुवात जोखिममुक्त हुँदैन । जेलेल मियाँले धान खेती गर्दा प्रति बिगाहा ७० देखि १०० मनसम्म उत्पादन हुने गरेको थियो । मखनाका लागि लिइएको भाडा दर त्यो तुलनामा कम भए पनि जोखिम मोलेको बताउँदै मियाँ भन्नुहुन्छ– “खेती कस्तो हुने हो भन्ने यकिन नभएकाले अहिले सस्तोमै जग्गा दिएका हौँ ।”

आगामी दुई महिनापछि मखनाले फल दिन थाल्नेछ । अहिले फूल फूल्ने मौसम हो । यदि यो खेतीको परीक्षण सफल भयो भने कचनकबलको सिमखेतमा मात्र होइन, नेपालका अन्य तराईका जिल्लामा पनि मखना खेतीको लहर चल्नेछ । बर्खामा जलमग्न भएर खेती कठिनाई व्यहोर्दै आएका कचनकबलका किसानहरु मखना खेतीप्रति आकिर्षत हुँदैछन् । 

तराई क्षेत्रका सिमखेत मात्र होइन, सदाबहार पानी रहने प्राकृतिक र कृत्रिम पोखरीहरुमा समेत मखना खेतीको राम्रो सम्भावना छ । सप्तरी, धनुषा र महोत्तरी लगायतका मधेश प्रदेशका जिल्लामा यसको सानो आकारमा खेती गरिएको पाइएको छ । 

मखना खेती गरिएको जग्गामा अटुट रुपमा पानी जम्ने हुनाले माछापालन गरेर दोहोरो लाभ लिन सकिने जानकारहरु बताउँछन् । माछाको मलले मखनालाई उर्वर बनाउने र मखनाको पातले माछालाई सुरक्षा प्रदान गर्ने कचनकबलका मखना खेती सञ्चालक शाहिल शेख बताउनुहुन्छ ।

झापा र मोरङसँग सीमा जोडिएको भारतको विहार प्रदेश विश्वकै मखना खेतीको प्रमुख उत्पादक हो । विश्व बजारमा बिहारको मखनाले ९० प्रतिशत स्थान ओगटिरहेको जनाइएको छ । विहारको उत्पादन प्रविधि, जनशक्ति र अनुभव नेपालको तराई क्षेत्रका लागि उपयोगी नमुना हुने देखिन्छ । 

बिहारको मधुवनी, दरभंगा, कटिहार, पूर्णिया, सहरसा र सीतामणि मखना खेतीको पकेट क्षेत्र मानिन्छन् । झापाको कचनकबलमा मखना खेती गर्न पूर्णियाबाटै लगानी साझेदार आएका हुन् । भारत सरकारले गत वर्ष मखना खेतीलाई अनुदान दिन र प्रोत्साहित गर्न ‘मखना बोर्ड’ गठन गरेको छ ।

महँगो मूल्यमा विक्री हुने र धानको तुलनामा बढी आम्दानी हुने भएकाले निकट भविष्यमा झापाको कचनकबल गाउँपालिका क्षेत्रलाई मखना खेतीको पकेट क्षेत्र विकास गरेर लैजान सकिने सम्भावना छ । यसका लागि स्थानीय सरकारले पनि सरोकार बढाउनु पर्ने शेख बताउनुहुन्छ ।

कचनकबल गाउँपालिकाका उपाध्यक्ष नवराज भट्टराई यस नवीन कृषि प्रयासलाई सकारात्मक रूपमा लिनुहुन्छ । “यो हाम्रा लागि एउटा नमुना खेती हो, यसबाट किसानले कति वास्तविक फाइदा पाउँछन् भन्ने कुरा हेर्नुछ,” उपाध्यक्ष भट्टराई भन्नुहुन्छ– “बाली पाकेपछि मात्र थाहा हुन्छ । यदि यो खेती सफल भयो भने पालिकाले किसानहरूलाई मखना खेतीतर्फ आकर्षित गर्न विशेष प्रोत्साहनका कार्यक्रमहरू ल्याउनेछ ।”

कचनकल स्तम्भ रहेको नेपालकै होचो भूभाग अवलोकन गर्न वर्षेनी हजारौं आन्तरिक तथा बाह्य पर्यटक कचनकबलमा आउने गरेका छन् । कचनकबल स्तम्भ नजिकै रहेको मखन खेतीले समेत पर्यटक आकर्षित गर्ने सम्भावना देखिएको उपाध्यक्ष भट्टराई बताउनुहुन्छ । उहाँले मखना खेतीमा लागिरहेका व्यवसायीहरुसँग सम्पर्क र संवाद गरेर खेतीको सम्भावना बारेमा जानकारी लिने कार्य भइरहेको बताउनुभयो । 

नेपालले वार्षिक करोडौँको मखना भारतबाट आयात गर्दै आएको छ । कचनकबलमा सुरु भएको यो जमर्कोले मुलुकलाई मखनामा आत्मनिर्भर बनाउने नयाँ बाटो अवश्य देखाउनेछ । धानको विकल्पमा उच्च मूल्य दिने खेतीका रूपमा मखनाले कचनकबलका किसानको जीवनस्तर उकास्ने अपेक्षा गरिएको छ ।

सिमखेतको टिलपिल पानीमा तैरिइरहेका ती ठूला हरिया पातहरू एउटा बिरुवा मात्र होइनन्, ती त झापाका किसानका सपना हुन् । जसले भोलिका दिनमा ‘सेतो सुन’ फलाएर गाउँकै अनुहार बदल्ने अठोट बोकेका छन् ।

लेखकको बारेमा
Image
अम्बिका भण्डारी
अम्बिका भण्डारी नेपाल पत्रकार महासंघ कोशी प्रदेश समितिकी उपाध्यक्ष  एवम् राष्ट्रिय समाचार समितिको झापा समाचारदाता समेत हुनुहुन्छ ।