१० वैशाख २०८३, बिहिवार

यस्तो आयो इजरायलबाट दशैमा आमाको चिठ्ठी

६ कार्तिक २०८०, सोमवार
Image

प्रिय छोरी,

दसैंले छपक्कै छोपेको होला । यसपाली पनि घर आउन पाइन, दुःख नमान्नु । तिम्रो बुवालाई यसपाली नौरथा अगाडि नै आइपुग्छु भनेको थिएँ । कम्पनीले छुट्टि दिएन अरे भन्दिनु । तिम्रो भाइ मामा घरमा टिका लगाउन सँगै जानुपर्छ है आमा भन्थ्यो, उसलाई पनि आगौ साल जाउँला भन्दिनु ।

टिभीमा समाचार हेर्दैछौं होला । यता अलिक मुस्किलका दिन आएका छन् । हाम्रो बसाई भएको ठाउँभन्दा दश किलोमिटर नजिकै छ गाजा सहर । हमासले अचानक धावा बोलेको त्यो रात त बाँचिदैन होला जस्तो भएको थियो । यहाँ घरमा म र घरधनी बुढी आमा मात्रै बस्छौं । राति साइरन बजेलगत्तै तिहारमा पटाका पड्किए झैं रकेट आकाशभरि चम्किए । एउटा रकेट हामी बसेकै घरको धुरीबाट छिमेकीको घरमा बज्रियो । हत्त न पत्त भुइँतला मुनिको बंकरमा बुढी आमैलाई लुकाएर बचाएँ । 

खोइ के कैरन लगाउँ यहाँको हालखबरको । सबै टिभी र रेडियोमा आएकै होला । इजरायलको सरकारले अहिले हामी कसैलाई पनि घर बाहिर ननिस्कनु भनेको छ । कुनै पनि बेला हमासले रकेट आक्रमण दोहोर्याउला भन्ने त्रास उत्तिकै छ । रातभरि बंकरमा लुक्छौं । विहान एकपटक खाना पकाएर खान्छौं । विहान पकाएकै खाना बेलुका छिट्टै खाएर बंकरमा पुगिहाल्छौं । 

दसैंमा आउने मेरो योजना नभएको होइन । हमासले इजरायलमा आक्रमण गरेको दुई दिन अघि मात्र घरधनी आमैको छोरा बुहारीलाई फोनबाट दसैंको बिदा मागेको थिएँ । सुरुमा त हुँदैन भन्दैथिए । मैले छोराछोरीको मुख हेरेर भए पनि छिट्टै आउँछु भनेपछि २० दिनको बिदा दिन उनीहरु मञ्जुर भएका थिए । तर, हमासको आक्रमणपछि इजरायलको अवस्था पुरै फेरिएको छ । तीन हजारभन्दा बढी मानिस एकै रातमा मारिएको शंका छ । मलाई त्यसपछि घरधनीले बिदा दिन नसकिने बताए । मैले बम बारुदको त्रासका बीच तिनै घरबेटी बुढी आमैलाई स्याहार सुसार गरेर रुँघिरहनु पर्ने बाध्यता आएको छ ।

यहाँका हरेक वयस्क नागरिक जागिरे हुन्छन् । युवा उमेरकाहरु सैनिकमा भर्ती भएका हुन्छन् । नेपालबाटै हामी तिनै इजरायली जागिरे छोराछोरीले घरमा छाडेका बुढा आमाबुवाहरुको हेरचाह गर्ने रोजगारीमा आएका हौं । काम गाह्रो छैन । मैले एक जना बुढी आमैको हेरचाहको क्रममा खाना खुवाउनु पर्छ । टाइम टाइममा औषधि खुवाउनु पर्छ । लुगाफाटा फेरफार गरिदिनु पर्छ । महिना बितेपछि खातामा तलब हाल्दिन्छन् । घरमा टेलिभिजन हेर्ने, मोवाइल फोन गर्ने र बजारसम्म डुलफिर गर्ने अवसर छँदैछ ।

हमासले हमला गरेयता चाहिँ हामी बन्दी जस्तै भएका छौं । किनमेल गर्न डिपार्टमेन्टल स्टोरतिर जाँदैनौं । अनलाइनबाटै सामान किन्छौं । सडकभरि सेनाका ट्यांक र बन्दुकधारीको लस्कर दगुरिरहेको छतबाटै देखिन्छ । गाजा सहरलाई खाली गराएर इजरायलले स्थलगत फौजी कार्वाही गरिरहेको हुँदा अहिले युद्धकै अवस्था छ । युद्ध त इजरायल र हमासबीच भएको हो । तर, हामी रोजगारीका लागि बाध्यताले आएका नेपाली भनेर युद्धरत पक्षले सहानुभूति राख्दैनन् । हमासको हमलामा परेर कृषि पढ्न आएका नेपाली विद्यार्थीको मृत्युले नै प्रमाणित गरिसकेको छ कि यहाँ कि आक्रमणकारी हुन्छ कि उसको दुस्मन हुन्छ । तेस्रो पक्ष भनेर कसैलाई मान्दैनन् । 

यता युद्ध थामिएछ भने छिट्टै घर आउँला । नत्र बिदा पाउन गाह्रो छ । दसैं राम्ररी मनाउनु । पढाइमा ध्यान लगाउनु । छोराछोरीकै राम्रो पढाईका लागि केही कमाउन सकिएला कि भनेर बारुद बिछ्याए जस्तो मरुभूमिको देश इजरायलमा आएकी हुँ । मैले ज्यानलाई हत्केलामा राखेर आर्जेको पैसालाई तिमीहरुले शिक्षामा सदुपयोग गर्नेछौं भन्ने मलाई पूरा भरोसा छ । टिका लगाउन बुवासँग मामाघर जानु । मूलघरमा हजुरबुवा र हजुरआमाको हातबाट पहिलो टिका लगाउनु । गाउँको दोबाटोमा लिंगे पिङ हालेका होलान्, खेल्नु रमाउनु । राति चाहिँ मेला र गाउँतिर नडुल्नु । समय राम्रो छैन ।

छोरी, तिमी र भाइलाई मैले एउटा एउटा आइफोन डीएचएल गरेर पठाइदिएकी छु । तिमी अब बुझ्ने र ज्ञानी भइसकेकी छौं । मोवाइललाई पढाईमा सदुपयोग गर्नु । फेसबुक र टिकटक हेर्न मात्रै मोवाइल चलाउनु बुद्धिमानी होइन । बजारमा धेरै प्रकारका सामान बेच्न राखिएका हुन्छन् । तर हामी जे देखिन्छ ती सबै सामान किन्दैनौं । दोकानमा बेच्न राखिएका खानेकुरा पनि जे भेटिन्छ, ती सबै हामी खाँदैनौं । जे हामीलाई आवश्यक छ, जुन कुराले हाम्रो आवश्यकता पूरा गर्दछ, त्यही मात्र किन्छौं, छान्छौं र लिन्छौं । ठिक त्यसैगरी, फेसबुक, टिकटक र युट्युबमा जे आउँछन्, सबै हेर्ने गर्नुहुँदैन । तिम्रो पढाईलाई काम लाग्ने, तिमीलाई ज्ञान हुने र सकारात्मक कुरा मात्र त्यस्ता सामाजिक सञ्जालबाट लिने, हेर्ने र पढ्ने बानी बसाउनुपर्छ । यी कुरालाई गन्थन नठान्नु । आमाको सन्देश भनेर ग्रहण गर्नु ।

छोरी तिमीले आफ्नो र परिवारका सदस्यहरुको स्वास्थ्यका लागि विशेष ध्यान दिनुपर्छ । बजारमा बिषादीको अवशेष बढी मात्रामा भएका सागसब्जी र फलफूल बेच्न राखेका हुनसक्छन्, होशियारी अपनाउनु । अर्गानिक खानेकुराको सेवनले हाम्रो स्वास्थ्य बलियो हुन्छ । नियमित शारीरिक व्यायाम, योग र ध्यान गर्ने गर्नु । जसले तिम्रो मानसिक र शारीरिक विकासका साथै स्वास्थ्य राम्रो बनाउन मदत पुर्याउँछ । 

अचेल आफन्तहरुबीच चाडवाडका बेला भेटघाट हुँदा पनि मोवाइलमा घोप्टिने बानीका कारण खुलेर कुराकानी हुन पाउँदैन । यो अति नराम्रो बानी हो । घरमा आउनु भएका पाहुनालाई मीठो बोली र व्यवहारले प्रसन्न तुल्याउनुपर्छ । धेरै दक्षिणा दिएर र मदमदिरा खुवाएर मात्र पाहुना खुशी हुन्छन् भन्ने गलत मान्यता भत्काउनुपर्छ । तिमीहरु पनि टिका लगाउन जाँदा फेसबुक, टिकटक र युट्युबमा घोप्टिएर अलमलिने बानी नगर्नु । आफन्तसँग बोलचाल र घुलमिलमा समय दिनु । जसका घर जाँदा पनि अहिलेका केटाकेटी मोवाइलमा अलमल गरिरहेका देखिन्छन् । भात पानी खान पनि बिर्सन्छन् । त्यसो नगर्नु है ।

जति लेखे पनि कुराको पोयो एउटै हो । कसैसँग रीस नराख्नु र कसैको ननिको नहुनु । अमूल्य समयलाई पढाई, स्वास्थ्य र परिवारका लागि सदुपयोग गर्नु । समय परिवर्तनशील छ । युद्धको अवस्था शान्तिमा परिणत होला । त्यसपछि म घर आउन पाउनेछु । अनि सँगै दसैं मनाउँला, रमाउँला । 

तिमीलाई असाध्यै माया गर्ने, 

आमा

इजरायल

मिति ः २०८० असोज २८ गते (सुखानी सप्ताहिकको दशैं अंकबाट साभार)

  


लेखकको बारेमा
Image
अम्बिका भण्डारी
अम्बिका भण्डारी नेपाल पत्रकार महासंघ कोशी प्रदेश समितिकी उपाध्यक्ष  एवम् राष्ट्रिय समाचार समितिको झापा समाचारदाता समेत हुनुहुन्छ ।