विचार
विचार
मानव जीवन भनेको भौतिक यथार्थमा मात्र सीमित छैन, यसको गहिराइमा एक अदृश्य, तर प्रभावशाली आत्मिक आयाम पनि सक्रिय छ। यही आयाममा सत्य र असत्य, उज्यालो र अन्धकार, आशा र निराशाबीच निरन्तर द्वन्द्व चलिरहेको हुन्छ। पवित्र बाइबलले यस संघर्षलाई बाहिरी घटनाका रूपमा मात्र होइन, मानव हृदयभित्रको वास्तविक अनुभवका रूपमा प्रस्तुत गर्दछ।
आजको समयमा मानिसहरू अनेक चुनौती, तनाव र अनिश्चितताबाट गुज्रिरहेका छन्। यस्तो अवस्थामा नकारात्मक सोच, आत्म-संयम र निराशाले सजिलै स्थान पाउँछ। यसै सन्दर्भमा, हामीले शैतान र परमेश्वरसम्बन्धी बाइबलका शिक्षाहरूलाई डरको दृष्टिले होइन, जीवन बुझ्ने र सुधार गर्ने दृष्टिकोणबाट हेर्नु आवश्यक छ। यो लेखको उद्देश्य पनि त्यही हो, डर होइन, चेतना, विभाजन होइन, सन्तुलन, र निराशा होइन, आशाको सन्देश दिनु।
शैतानको भूमिका: छल, भ्रम र दिशाभ्रमको प्रतीक हुन्छ। पवित्र बाइबलमा शैतानलाई एक वास्तविक आत्मिक अस्तित्वको रूपमा चित्रण गरिएको छ, तर यसको भूमिका प्रायः प्रत्यक्ष हिंसा वा डर देखाउनुमा सीमित छैन। बरु, शैतानलाई झूट, छल र भ्रमको स्रोतको रूपमा प्रस्तुत गरिएको छ। येशू ख्रीष्टले यूहन्ना ८:४४ मा शैतानलाई “झूटको पिता” भन्नुभएको यो सन्दर्भले यही सत्यलाई उजागर गर्छ।
यसको अर्थ, शैतानको प्रभाव प्रायः सूक्ष्म र अप्रत्यक्ष हुन्छ। मानिसको मनभित्र प्रवेश गरेर उसले यस्ता विचारहरू जन्माउँछ: म केही गर्न सक्दिनँ” भन्ने आत्महीनता, म एक्लो छु भन्ने निराशा, गलत बाटो पनि ठीक छ भन्ने भ्रम, सजिलो नै सही हो भन्ने आकर्षण आदी इत्यादि।
यी सबै विचारहरू हाम्रो मानस पटलमा बाहिरबाट थोपारिएका जस्तो नदेखिए पनि, दीर्घकालीन रूपमा मानिसको सोच, निर्णय र व्यवहारलाई प्रभावित पार्छन्। यसैले शैतानको भूमिका बुझ्दा, यसलाई धार्मिक अवधारणामा सीमित नराखी मानव जीवनका नकारात्मक प्रवृत्तिहरूको प्रतीकका रूपमा पनि व्याख्या गर्न सकिन्छ।
आत्मिक संघर्ष भनेको हरेक मानिसको साझा अनुभव हुन सक्छ: एफिसी ६:१२ मा उल्लेख भएझैँ, मानव संघर्ष भनेको देखिने परिस्थितिसँग मात्र सम्बन्धित हुँदैन, यो भित्री द्वन्द्वसँग पनि जोडिएको हुन्छ। वास्तवमा, हरेक मानिसको जीवनमा यस्ता क्षणहरू आउँछन् जहाँ उसले सही र गलतबीच निर्णय गर्नुपर्छ।
जस्तै सत्य बोल्ने चाहना हुँदा पनि झूट बोल्ने प्रलोभन आउनु, प्रेम र क्षमाको बाटो रोज्न खोज्दा पनि रिस र घृणाले हावी हुन खोज्नु, दीर्घकालीन हितभन्दा तत्काल सजिलो विकल्प रोज्न मन लाग्नु, यस्ता अवस्थाहरू कुनै एक धर्म वा समुदायसँग मात्र सम्बन्धित हुँदैनन्, यी त मानव स्वभावका साझा पक्ष हुन्। यसैले आत्मिक संघर्षलाई बुझ्नु भनेको आफ्नै मन र व्यवहारलाई चिन्नु हो।
परमेश्वरको शक्ति: प्रेम, कृपा र पुनर्स्थापनाको स्रोत हो: जहाँ नकारात्मकता, दोषारोपण र निराशाले मानिसलाई कमजोर बनाउँछ, त्यहीँबाट पवित्र परमेश्वरको वचनले प्रेम, क्षमा र पुनर्स्थापनाको स्रोतका रूपमा प्रस्तुत गर्छ। “परमेश्वर प्रेम हुनुहुन्छ” (१ यूहन्ना ४:८) भन्ने सन्देशले मानव जीवनका लागि गहिरो आशा प्रदान गर्दछ।
परमेश्वरको शक्ति: डर देखाएर नियन्त्रण गर्ने शक्ति होइन, प्रेममार्फत परिवर्तन ल्याउने शक्ति हो, परमेश्वरको शक्ति दण्ड दिनमा मात्र केन्द्रित हुदैन, सुधार र पुनःस्थापना गर्नमा केन्द्रित हुन्छ। जीवनमा कहिलेकाहीँ यो शक्ति आँधीझैँ प्रकट हुन सक्छ, तर प्रायः यो सानो, शान्त स्पर्शका रूपमा अनुभूत हुन्छ, जसले थाकेको मनलाई सान्त्वना दिन्छ र निराशाबीच आशा जगाउँछ।
क्रूस: पराजयभित्र लुकेको विजय हो: इतिहासमा येशू ख्रीष्ट क्रूसमा चढ्नुभयो, धेरै मानिसहरुले त्यो क्षणलाई अन्तिम पराजय ठाने। तर पवित्र बाइबलको वचनले त्यसलाई विजयको सुरुवातका रूपमा चित्रण गर्दछ। (कलस्सी २:१५)।
क्रूसको सन्देश भनेको धार्मिक प्रतीक मात्र होइन, यो जीवनको यथार्थसँग पनि जोडिएको छ, जस्तै : कठिनाइ र पीडाले पनि अर्थ बोकेको हुन सक्छ, हारजस्तो देखिने अवस्थाले नयाँ सम्भावना जन्माउन सक्छ, प्रेम र बलिदानले परिवर्तन सम्भव बनाउँछ। यसरी, क्रूसले मानव जीवनलाई आशावादी दृष्टिले हेर्न सिकाउँछ।
समकालीन सन्दर्भमा बिषेस सन्देश यो छ: आजको समाजमा तीव्र प्रतिस्पर्धा, सामाजिक दबाब र व्यक्तिगत संघर्षका कारण मानिसहरू मानसिक रूपमा थाकिरहेका छन्। यस्तो अवस्थामा नकारात्मक सोच, आत्म-अस्थिर र निराशाले सजिलै ठाउँ बनाउँछ।
तर बाइबलको सन्देशले यसरी मार्गदर्शन गर्छ: सत्य र सकारात्मक सोचमा अडिग रहने, प्रेम, सहिष्णुता र क्षमालाई जीवनको आधार बनाउने, प्रार्थना, ध्यान वा आत्म-चिन्तनमार्फत आन्तरिक शान्ति खोज्ने, यी अभ्यासहरू कुनै एक धर्मका लागि एक व्याक्तिका लागि मात्र होइन, मानव जीवनलाई सन्तुलित र अर्थपूर्ण बनाउने सार्वभौमिक उपायहरू हुन्।
प्रतीकात्मक नामहरूको सन्देश यस्तो छ: पवित्र बाइबलमा शैतानका विभिन्न नामहरू छन्, लुसिफर, दियाबलस, बाल्जिबुल, बेलियल आदिको उल्लेख छ। यी नामहरूलाई शाब्दिक रूपमा मात्र नभई प्रतीकात्मक रूपमा पनि बुझ्न सकिन्छ। यी नामहरुले जनाउने सन्देशहरू यस्तो छ: अहंकार र पतन, झूट र भ्रम, विनाशकारी सोच, गलत प्राथमिकता, यसरी यी नामहरूले मानिसलाई आफ्ना कमजोरी र चुनौतीहरू चिन्न मद्दत गर्छन्।
तपाई र मलाई उज्यालो रोज्ने आह्वान छ: जीवनले हरेक दिन मानिसलाई विकल्प दिन्छ, सत्य वा झूट, प्रेम वा घृणा, आशा वा निराशा। सजिलो बाटो सधैं सही नहुन सक्छ, र कठिन बाटो सधैं गलत हुँदैन। त्यसैले मेरो सन्देश स्पष्ट छ: डर होइन, विश्वास रोजौँ, घृणा होइन, प्रेम रोजौँ, निराशा होइन, आशा रोजौँ भन्न चहान्छु।
निष्कर्ष : अन्धकारले केही समयका लागि प्रभाव पार्न सक्छ, तर उज्यालोलाई कहिल्यै स्थायी रूपमा जित्न सक्दैन। जहाँ सत्य, प्रेम र आशाको ज्योति प्रज्वलित हुन्छ, त्यहाँ नकारात्मकता आफैँ कमजोर हुँदै जान्छ। परमेश्वर ज्योति हुनुहुन्छ, र उहाँमा कुनै अन्धकार छैन” (१ यूहन्ना १:५) भन्ने सन्देश धार्मिक विश्वास मात्र होइन, जीवनको गहिरो यथार्थ पनि हो।
अन्तमा फेरि एकपटक उज्यालो रोज्ने निर्णय हरेक व्यक्तिको आफ्नै हातमा छ र त्यही निर्णयले जीवनको दिशा र गन्तव्य निर्धारण गर्दछ।