२१ वैशाख २०८२, आइतवार

चिया निर्यातमा भारतीय अवरोध हट्यो, १७ वटा ट्रक छुटे

१२ वैशाख २०८१, बुधवार
Image

झापा, १२ बैशाख  भारतीय भन्सारले पाँच दिन अघिदेखि रोकेको नेपाली तयारी चियाको निर्यात आज खुला गरेको छ । वैशाख ७ गते काँकडभिट्टा नाकाबाट चिया बोकेर गएका १७ वटा ट्रक भारतीय सीमाभित्र सडकमै रोकिएका थिए ।

चिया बोकेका ती सबै ट्रकहरु आज पश्चिम बंगालको पानीटङ्कीस्थित भारतीय स्थल भन्सार कार्यालयबाट जाँचपास भएर सकुशल छुटेको मेची भन्सार कार्यालयका प्रमुख रामप्रसाद रेग्मीले बताउनुभयो ।

“रोकिएका सबै ट्रकहरु आज छाडिए,” उहाँले भन्नुभयो–“अब भारतीय भन्सारबाट चिया निर्यातमा कुनै अवरोध रहेन ।” पानीटङ्कीस्थित भारतीय स्थल भन्सार कार्यालयका अधिकारीहरुले केन्द्रबाटै आएको निर्देशन अनुसार रोकिएको जनाउँदै अहिले केन्द्रबाटै खुलाउन अर्को निर्देशन आएको बताएका छन् ।

पूर्वीनाका काँकडभिट्टाबाट जाँचपासपछि चिया बोकेर भारतीय सीमावर्ती पानीटङ्की नाका पुगेका १७ वटा नेपाली ट्रकहरु रोक्दा भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्राबधान लागू भएको जनाएको थियो । गाडी नै पिच्छे गुणस्तर जाँच गर्ने व्यवस्था अव्यावहारिक भन्दै नेपाली पक्षले पुरानै प्रावधान अनुरुप चियाको निर्यात गर्न दिन माग गर्दै आएको थियो । 

नेपाली पक्षले चिया निर्यातमा भारतीय अवरोध भएको विषयमा आपत्ति जनाउँदै भारतीय पक्षलाई पुरानै नियम अनुसार व्यापार सहजिकरण गर्न दवाव सिर्जना गरेको गरेको थियो । अन्ततः भारतीय पक्ष पहिलेकै गुणस्तर जाँचको नियमानुसार चियाको निर्यात खुलाउन सहमत भयो ।

चियाको एउटा नमुनाको गुणस्तर जाँचपास गराएको रिपोर्टले १५ दिनसम्म निर्यात गर्दा मान्यता पाउने पुरानो प्रचलन थियो । भारतीय भन्सारले पुरानै जाँच नियमानुसार नेपाली ट्रकहरुलाई आज छाडिदिएको हो । 

सीटीसी र अर्थोडक्स चिया भारत निर्यात हुँदै आएको छ । नेपाली चियाको ९० प्रतिशत निर्यात भारतमै हुने गरेको छ ।

सम्बन्धित खबर