२० भदौ २०८३, शनिवार

धुलाबारीको श्रीकृष्ण प्रणामी मन्दिरमा पहिलोपटक भव्य राधाकृष्ण झाँकी प्रतियोगिता

१९ भदौ २०८३, शुक्रवार
Image

धुलाबारी, १९ भदौ । श्रीकृष्ण जन्माष्टमीको पावन अवसरमा धुलाबारीस्थित श्रीकृष्ण प्रणामी मन्दिर परिसरमा पहिलोपटक आयोजना गरिएको खुला राधाकृष्ण झाँकी प्रतियोगिता भव्य रूपमा सम्पन्न भएको छ।

मन्दिर सञ्चालक समितिका अध्यक्ष जीवन सापकोटाको अध्यक्षता एवं मंगलाधामका पूज्य नन्दुदास महाराजजीको प्रमुख आतिथ्यतामा आयोजित उक्त कार्यक्रममा  ११ वटा टोलीले राधाकृष्णका बाललीला तथा भक्तिरसयुक्त कलात्मक झाँकीहरू प्रस्तुत गरेका थिए।


प्रतियोगितामा शिया शिवाकोटी, विज्ञसा खड्का र विराट खड्काको टोलीले प्रथम स्थान हासिल गरेको छ। त्यसैगरी, विभूति सुवेदी र दिव्या मिश्रको टोली दोस्रो तथा लक्ष्मी पाठक र विधिका खतिवडाको टोली तेस्रो भएको छ।

प्रतियोगितमा प्रथम, द्वितीया र तृतीया हुने टीमलाई पुरस्कार स्वरुप नगद रु. पाँच हजार, तीन हजार र दुई हजारसहित प्रमाणपत्र प्रदान गरिएको थियो ।

नेपाल पत्रकार महासंघ कोशी प्रदेशकी उपाध्यक्ष अम्बिका भण्डारी र मेची उद्योग वाणिज्य संघकी महिला उपाध्यक्ष उषा श्रेष्ठ निर्णायक मण्डलमा हुनुहुन्थ्यो। सहभागीहरूको जीवन्त अभिनय र सांस्कृतिक प्रस्तुतिले मन्दिर परिसरलाई भक्तिमय बनाएको निर्णायक उषा श्रेष्ठले जानकारी दिनुभयो।


कर्मयोगी, ज्ञानयोगी र भक्तियोगी भगवान् श्रीकृष्णको शुभ जन्मोत्सवका अवसरमा आज साँझ मन्दिर परिसरमा विशेष 'दिव्य आरती' आयोजना गरिने मन्दिरका सचिव गोकुल खड्काले बताउनुभयो।