झापा, २३ भदौ । जिल्ला प्रशासन कार्यालय झापाको नेतृत्वमा खटिएको अनुगमन टोलीले मेचीनगर नगरपालिका–९ स्थित दास किराना पसलबाट सोमवार ४९० किलोग्राम (१४ बोरा) म्याद गुज्रिएको गाईभैंसीको पेलेट दाना बरामद गरेको छ ।
उक्त पसलबाट खरिद गरिएको दाना खाएर स्थानीय उपभोक्ता जयराज आचार्यको पशु बिरामी परेको गुनासो आएपछि उपभोक्ता जागरण अभियान नेपालको पहलमा प्रशासनसहितको संयुक्त टोलीले पसलमा आकस्मिक अनुगमन गरेको थियो ।
अनुगमनका क्रममा वीरगञ्ज उपमहानगरपालिका–२१ स्थित प्रो–बायोटेक इन्डस्ट्रिज लिमिटेडद्वारा उत्पादित ‘शक्ति ब्रान्ड’का बी–२१, बी–२२, बी–२३ र बी–२४ ब्याच नम्बरका दाना म्याद गुज्रिएको अवस्थामा फेला परेका हुन् । बरामद दानाका बोरामा उत्पादन मिति २०८३ जेठ ६ गते र उपभोग्य अवधि ६० दिन भनेर स्पष्ट उल्लेख गरिएको छ ।
जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत टिकाराम निरौलाका अनुसार म्याद गुज्रिएको दाना जफत गरी पसल सञ्चालकमाथि कानूनी कारबाही सुरु गरिएको छ । उपभोक्ता आचार्यले भदौ १४ गते उक्त पसलबाट दाना खरिद गरेको जानकारी दिएका छन् । पसलले आचार्यलाई दानाको रकम फिर्ता गरेका छन् ।
अनुगमन टोलीले दाना विक्रेता जयनारायण दासलाई भदौ २४ गते आवश्यक कागजातसहित जिल्ला प्रशासन कार्यालयमा हाजिर हुन निर्देशन दिएको छ । बरामद गरिएका दाना सिलबन्दी गरी मेचीनगर–९ को वडा कार्यालयमा सुरक्षित राखिएको छ ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय झापाका अनुसन्धान अधिकृत सुवासचन्द्र ओस्तीले म्याद गुज्रिएका अखाद्य वस्तु बिक्री वितरण गर्नु दण्डनीय अपराध भएकाले पसलमाथि थप अनुसन्धान गरी कानूनी कारबाही अघि बढाइने बताउनुभयो ।
प्रशासकीय अधिकृत निरौलाको नेतृत्वमा खटिएको उक्त अनुगमन टोलीमा खाद्य प्रविधि कार्यालयका अनुसन्धान अधिकृत सुवासचन्द्र ओस्ती, इलाका प्रहरी कार्यालय धुलाबारीका प्रहरी नायव निरीक्षक शंकरकुमार खत्री, जिल्ला प्रशासनका नासु यदुनन्दन दाहाल, मेचीनगर–९ का वडाध्यक्ष कञ्चन कुमार तामाङ, उपभोक्ता जागरण अभियान नेपालका केन्द्रीय सदस्य मोहन काजी, मेचीनगर अध्यक्ष रचना घिमिरे र पीडित उपभोक्ता जयकुमार आचार्यको सहभागिता रहेको थियो ।