झापा, १ चैत । मेचीनगर नगरपालिकास्थित सरकारी अस्पतालमा रेबिजविरुद्धको खोप (एन्टी रेबिज भ्याक्सिन)को अभाव भएको छ ।
सरकारी कोटा अनुसार आउने खोपको आपूर्ति ढिलो भएपछि अभाव भएको नगरपालिकाको स्वास्थ्य शाखाकी प्रमुख सविता सापकोटाले बताउनुभयो । जसका कारण स्थानीय बासिन्दा महँगो मूल्य तिरेर निजी क्लिनिकमा खोप लगाउन विवश भएका छन् ।
मेचीनगर नगरपालिका–१० स्थित मेचीनगर आधारभूत अस्पतालमा विगत १५ दिनदेखि खोपको मौज्दात रित्तिएको हो ।
स्वास्थ्य शाखा प्रमुख सापकोटाले मेचीनगरमा मासिक पाँच सयदेखि एक हजार डोजसम्म खोपको खपत हुने भए तापनि माथिल्लो निकायबाट महिनामा जम्मा दुई सयदेखि तीन सय डोज मात्र उपलब्ध हुँदा संकट पैदा भएको बताउनुभयो ।
इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखामार्फत कोशी प्रदेश स्वास्थ्य आपूर्ति तथा व्यवस्थापन केन्द्रमा आउने खोप त्यहाँबाट स्थानीय तहले पाउने व्यवस्था छ । खोपको मात्रा बढाइदिन आग्रह गर्दै प्रदेश आपूर्ति केन्द्रमा पत्राचार गरिसकिए पनि हालसम्म खोप प्राप्त नभएको प्रमुख सापकोटाले जानकारी दिनुभयो ।
सरकारी अस्पतालमा सहुलियत दरमा पाइने सेवा नपाउँदा न्यून आय भएका नागरिकहरू थप आर्थिक मर्कामा परेका छन् । मेचीनगर आधारभूत अस्पतालमा जम्मा रु ३५० बुझाउँदा तीन पटकको पूर्ण डोज खोप उपलब्ध हुने गरेकोमा अहिले निजी क्लिनिकहरूले प्रतिपटक रु. ६५० सम्म शुल्क असुल्ने गरेको जनगुनासो छ ।
सरकारीमा सस्तो र सर्वसुलभ मूल्यमा पाइने जीवनरक्षक खोपका लागि निजी क्लिनिकमा ६ गुणा बढी रकम खर्चिनुपर्ने बाध्यता सिर्जना भएको छ । अस्पतालमा रेविजविरुद्धको खोप लगाउन आउने नयाँ विरामीहरु फर्किएर निजी क्लिनिक र निजी अस्पतालतिर जाने गरेका छन् ।
स्वास्थ्य कार्यालय झापाका स्टोरकिपर युवानाथ बरालले भने केन्द्रले स्थानीय तहका अस्पतालमा सिधै भ्याक्सिन पठाउने प्रणाली भएकाले जिल्ला तहमा यसको मौज्दात र अभावबारे जानकारी नहुने बताउनुभयो । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले तोकेरै पालिकाहरूमा खोप पठाउने हुँदा समन्वयमा समेत समस्या देखिएको छ ।
मेचीनगर क्षेत्रमा कुकुर तथा अन्य जनावरको टोकाइका घटना बढिरहेका बेला आधारभूत स्वास्थ्य सेवा अन्तर्गत पर्ने रेबिजविरुद्धको खोपको अभावले जनस्वास्थ्यमा गम्भीर जोखिम निम्त्याउने खतरा बढेको छ ।