२ चैत २०८२, सोमवार

इनिशा विक हत्याका दोषीलाई कारवाहीको माग गर्दै काँकरभिट्टामा विरोध प्रदर्शन

२ चैत २०८२, सोमवार
Image

झापा, २ चैत । सुर्खेतकी इनिशा विकको बलात्कारपछि हत्या भएको घटनाका दोषीलाई कडा कानुनी कारबाहीको माग गर्दै आज झापाको काँकरभिट्टामा विरोध प्रदर्शन गरिएको छ । 

प्रगतिशील युवा क्लब धुलाबारीको अगुवाइमा काँकरभिट्टास्थित हनुमान मन्दिर परिसरबाट निकालिएको विरोध ¥यालीले नगरका विभिन्न भागको परिक्रमा गरेपछि पूर्वी प्रवेशद्वारमा पुगेर खबरदारी सभामा परिणत भएको थियो ।

¥यालीमा मेचीनगर नगरपालिका क्षेत्रका विभिन्न विद्यालयका विद्यार्थी, शिक्षक, मानवअधिकारकर्मी, विभिन्न संघसंस्थाका प्रतिनिधि र सञ्चारकर्मीहरूको ठूलो उपस्थिति रहेको थियो । सहभागीहरूले ‘दोषीलाई कडाभन्दा कडा कारबाही गर’, ‘हत्या हिंसा बन्द गर’, र ‘जहाँ छोरी डराउँछे, त्यहाँ समाज असफल हुन्छ’ जस्ता नारा लेखिएका प्लेकार्ड बोकेका थिए ।

क्लवका अध्यक्ष विशाल कार्कीको अध्यक्षतामा आयाजित विरोध रयालीमा सम्बोधन गर्दै नेपाल पत्रकार महासंघ कोशी प्रदेशकी उपाध्यक्ष अम्बिका भण्डारी, शिक्षक सुभद्रा भट्टराई, महिला अधिकारकर्मीद्वय राधा प्रधान र पुजा सापकोटा तथा मानवअधिकारकर्मी विनय कार्कीले घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई हदैसम्मको सजाय दिन माग गर्नुभयो । उहाँहरूले यस्ता जघन्य अपराधका घटनाले समाजमा असुरक्षा बढाएको भन्दै पीडित परिवारलाई अविलम्ब न्याय दिलाउन सरकारको ध्यानाकर्षण गराउनुभयो ।