८ असार २०८३, सोमवार

लागू औषधका आरोपीले कारागार र हिरासत भरिभराउ

८ असार २०८३, सोमवार
Image

झापा, ८ असार । लागू औषध सेवन र कारोवारका कारण निम्तिने सामाजिक समस्या झापामा विकराल बन्दै गइरहेको छ । जिल्ला कारागार र प्रहरी हिरासत कक्ष लागू औषधजन्य अभियोग लागेकाहरुले भरिभराउ हुन थालेका छन् ।

झापामा २० हजारभन्दा बढी लागू औषधका सक्रिय प्रयोगकर्ता रहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख बसुन्धरा खड्काले बताउनुभयो । लागू औषधको बेचबिखन र ओसारपसार गरेको कारण झापामा ९०० जनाभन्दा धेरैलाई राज्यले कारागार र हिरासत कक्षमा राखेको उहाँले जानकारी दिनुभयो ।

उहाँका अनुसार झापा कारागारमा रहेका कैदीमध्ये ३७६ जना, पुर्पक्षका लागि थुनामा रहेकामध्ये ३४० जना र अनुसन्धानको सिलसिलामा प्रहरी हिरासतमा रहेकामध्ये २०८ जनाले लागू औषधको बेचबिखन र ओसारपसार गरेको कसुर खेपिरहेका छन् ।

लागूऔषध दूव्र्यसनको उपचारका लागि जिल्लाका ४२ वटा सुधार केन्द्रमा एक हजार २६२ भन्दा बढी व्यक्ति भर्ना भएका र प्रादेशिक अस्पताल भद्रपुरमा १३३ जना नियमित उपचारमा रहेका छन् । जिल्लामा १५ हजारभन्दा बढी लागूऔषध सेवनकर्ता सार्वजनिक नभएको प्रहरीको आँकलन छ ।

वार्षिक तथ्यांकले समेत झापामा लागूऔषधको घटना बढिरहेको देखाएको छ । लागू औषधजन्य अभियोगमा आर्थिक वर्ष २०७८÷०७९ मा २०० जना, २०७९÷०८० मा २०६ जना, २०८०÷०८१ मा २९७ जना, २०८१÷०८२ मा ३४५ जना र चालू आव २०८२÷०८३ को जेठसम्ममा ३५२ जना व्यक्ति पक्राउ परेका छन् ।

जिल्लामा सबैभन्दा बढी प्रभावित मेचीनगर नगरपालिका पाइएको छ । त्यसपछि भद्रपुर, बिर्तामोड र दमक रहेको प्रहरीले जनाएको छ ।

चालू आव २०८२÷०८३ को ११ महिनाको अवधिमा सबैभन्दा बढी अभियुक्त मेचीनगरमा पक्राउ परेको पाइएको छ । भारतबाट लागूऔषध लिएर नेपाल प्रवेश गरेको अवस्थामा मेचीनगरको सीमावर्ती क्षेत्रबाट ९२ जना पक्राउ परेका छन् भने भद्रपुरबाट ७७ जना, बिर्तामोडबाट ४५ जना, दमकबाट ३२ जना, अर्जुनधाराबाट १६ जना, गौरीगंजबाट १३ जना, कमलबाट ७ जना, गौरादहबाट ६ जना, बुद्धशान्तिबाट ५ जना, कचनकवलबाट २ जना र हल्दिवारीबाट एक जना पक्राउ परेका छन् ।

लागूऔषध प्रयोगको कारण समाजमा चोरी, डकैती, घरेलु हिंसा, आत्महत्या, दुर्घटना, मानसिक र शारीरिक रोग, पारिवारिक बिखण्डन, सामाजिक अस्थिरता र डरजस्ता समस्या बढेको प्रहरी उपरीक्षक खड्का बताउनुहुन्छ ।

झापामा प्रहरीले लागू औषधको नियन्त्रणका लागि विशेष अभियान सञ्चालन गरेको छ । लागू औषधको सेवन र कारोवारको अवस्था भयावह बन्दै गएको कारण स्थानीय तह र समुदायसँग मिलेर त्यसको प्रभावकारी नियन्त्रणका लागि अभियान सञ्चालन गरिएको प्रहरी उपरीक्षक बसुन्धरा खड्काले बताउनु भएको छ ।

लागू औषधको मागमा कमी, आपूर्तिमा नियन्त्रण र क्षतिको न्यूनीकरण गर्ने योजनासहित झापा जिल्ला प्रहरी कार्यालयले अभियानको पहिलो चरणमा विद्यालयमा सचेतनामूलक प्रचारप्रसार कार्यक्रम सञ्चालन गरिरहेको छ । 

दोस्रो चरणमा लागूऔषध विरुद्धको सेचतनामूलक कक्षा सञ्चालन गर्न १५० जनाभन्दा बढी शिक्षकलाई तालिम दिइने प्रहरी उपरीक्षक खड्काले बताउनुभयो । तेस्रो चरणमा प्रहरी र स्थानीय युवाहरुबीच मैत्रीपूर्ण खेलकुद गरिने जनाइएको छ । चौथो चरणमा ७१ वटा प्रहरी इकाईमार्फत समुदाय स्तरीय लागू औषध नियन्त्रण क्लब गठन गरिने भएको छ ।

(तस्विर एआईद्वारा निर्मित  हो ।)