झापा, ८ असार । मेचीनगर नगरपालिकाको वडा नं. ४ बाहुनडाँगीमा जंगली हात्ती नियन्त्रण गर्न सशस्त्र प्रहरी बलको टुकडी सम्मिलित ‘स्पेशल टास्कफोर्स’ परिचालन गरिएको छ ।
भारतबाट दर्जनाँैंको संख्यामा दिनहुँ भित्रिने जंगली हात्तीको बथानले क्षति पुर्याउन थालेपछि जनधनको सुरक्षा गरी हात्ती नियन्त्रण गर्ने उद्देश्यका साथ दश जना सुरक्षाकर्मी रहेको ‘स्पेशल टास्कफोर्स’ बाहुनडाँगीमा परिचालन गरिएको सशस्त्र प्रहरी बल नेपालको २ नं. गणका सूचना अधिकारी सुमन पोखरेलले बताउनुभयो ।
उहाँका अनुसार सशस्त्र प्रहरी बलको बाहुनडाँगी सुरक्षा पोस्टमा यसअघिदेखि नै २० जना सुरक्षाकर्मी रहँदै आएका थिए । उहाँले भन्नुभयो– “अहिले हात्ती नियन्त्रण गर्न भनेर स्पेसल टास्क फोर्स अन्तर्गत दश जना जनशक्ति थप गरिएको हो ।”
‘स्पेशल टास्क फोर्स’मा परिचालित सुरक्षाकर्मीले स्थानीयबासीको सुरक्षार्थ राति र दिउँसो गस्ती गर्न थालेका छन् भने हात्ती धपाउन आवश्यकता अनुसार जुनसुकै बेला पनि परिचालन हुने पोखरेलले बताउनुभयो ।
नेपाल प्रहरी र सशस्त्र प्रहरी दुबैको पहिल्यैदेखि बाहुनडाँगी क्षेत्रमा सुरक्षा चौकीहरु रहेको छ । बाहुनडाँगी बजार, तिरिङ र नकलबन्दा सीमा क्षेत्रमा सशस्त्र प्रहरीको बीओपी र नेपाल प्रहरीको चौकी छ ।
हात्ती नियन्त्रणका लागि परिचालित सशस्त्र प्रहरीको टोली बाहुनडाँगीस्थित ब्यारेकमा बसेको छ । “उनीहरुका लागि छुट्टै व्यारेकको व्यवस्था छैन,” उहाँले भन्नुभयो– “बाहुनडाँगी व्यारेकमा बस्नका लागि पर्याप्त व्यवस्था छँदैछ ।”
प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले सशस्त्र प्रहरी, नेपाल प्रहरी र बन सुरक्षाकर्मी संलग्न स्पेशल टास्क फोर्स परिचालन हुने बताउनुभयो । उहाँले केही सुरक्षाकर्मी हात्ती नियन्त्रणमा परिचालन भइसकेको जानकारी दिनुभयो ।
मेचीनगर–४ का सन्तोष सुबेदीले बाहुनडाँगी क्षेत्रमा हात्ती नियन्त्रणका लागि १० जना थप सुरक्षाकर्मीको टोली आइपुगेको र उनीहरुले स्थानीय युवाहरुको द्रुत परिचालन टोलीसँग समन्वय गरिरहेको बताउनुभयो ।
मेचीनगर नगरपालिकाको वडा नं. १ र ४ स्थित बाहुनडाँगी क्षेत्रमा भारतको आसाम र पश्चिम बंगालको बन्यजन्तु आरक्षण रहेको जंगलबाट नेपालमा हात्तीको बथान भित्रिने गरेको छ । नौ दिनअघि हात्तीले मेचीनगर–४ की ६२ वर्षीय पदमा पौडेललाई घरमै आक्रमण गर्दा मृत्यु भएको थियो भने केही महिना यता व्यापक मात्रामा अन्न र फलफूल बालीमा क्षति पुर्याइरहेको छ ।
हात्तीका कारण स्थानीयबासीले असुरक्षा महसुस गरेपछि झापा निर्वाचन क्षेत्र नं. १ की प्रतिनिधिसभा सदस्य निशा डाँगीले प्रधानमन्त्री बालेन्द्र शाहलाई भेटेर स्पेशल टास्क फोर्स खटाउन माग गर्नु भएको थियो ।
सांसद् डाँगीले प्रधानमन्त्री शाहको निर्देशन अनुसार बाहुनडाँगीमा हात्ती नियन्त्रणका लागि सुरक्षाकर्मीको स्पेशल टास्क फोर्स परिचालन हुने बताउनुभयो ।