३ जेठ २०८१, बिहिवार

कृषि

झापाका किसानलाई शतप्रतिशत अनुदानमा ‘डीप बोरिङ’

१५ चैत २०७९, बुधवार
Image

झापा, १ चैत । अन्न तथा तरकारी बाली उत्पादनका लागि प्रसिद्ध दक्षिण झापाको हजारौं बिगाहा जग्गामा सिञ्चाई सुविधा पुर्याउनका लागि भूमिगत सिञ्चाई परियोजना सञ्चालन भएको छ । जसका लागि नेपाल सरकारले रु. १२ करोड बजेट बिनियोजन गरेको छ ।

नदी सिञ्चाई प्रणालीले नछोएका र आकाशे पानीको भरमा खेती गरिरहेका कचनकबल गाउँपालिकाको सात वटै वडा र भद्रपुर नगरपालिकाको १,२ र ३ नम्बर वडामा यसै वर्षदेखि परियोजना लागू भएको हो ।

झापा भूमिगत सिञ्चाई परियोजनाका इन्जिनियर भूविक्रम नेम्बाङका अनुसार कचनकबल र भद्रपुरका १० वटा वडामा शतप्रतिशत अनुदानमा १७१ वटा ‘डीप बोरिङ’ स्थापना गरेर आठ हजार ५०० बिगाहा क्षेत्रफल जग्गामा बाह्रैमास सिञ्चाई सुविधा पुर्याइने कार्यक्रम छ ।

परियोजना सञ्चालनका लागि नेपाल सरकारले यसैवर्ष शिवसताक्षी नगरपालिका वडा नं। १० माइधारमा आयोजनाको कार्यालय र भद्रपुरमा फिल्ड कार्यालय स्थापना गरेर परियोजनाको कार्य धमाधम भइरहेको उहाँले बताउनुभयो ।

“यो शतप्रतिशत अनुदानमा आधारित कार्यक्रम हो, यसमा किसानले केही पनि लगानी गर्नुपर्दैन,” परियोजनाका बारेमा जानकारी दिदै इन्जिनियर नेम्बाङले भन्नुभयो–“नदी सिञ्चाई नपुगेका उर्वर जग्गाहरुमा सिञ्चाईको सुविधा पुर्याएर कृषिको उत्पादकत्व बढाउन योगदान पुर्याउन सरकारले किसानका लागि यो कार्यक्रम ल्याइएको हो ।”

आयोजनाबाट सिञ्चाई सुविधा लिनका लागि ५० देखि ६० बिगाहा जग्गाका किसानहरुले आपसमा मिलेर उपभोक्ता समिति गठन गर्नुपर्ने र त्यसलाई कार्यालयमा दर्ता गराउनु पर्ने हुन्छ । सम्बन्धित वडा कार्यालयबाट ल्याएको सिफारिसका आधारमा उपभोक्ता समितिले माग गरे बमोजिम आयोजनाले सिञ्चाई कार्यक्रम सञ्चालन गर्ने प्रावधान रहेको छ ।

चालु आर्थिक वर्षमा कचनकबलको वडा नं। १ र ३ तथा भद्रपुरको वडा नं। ३ का उपभोक्ता समितिको माग बमोजिम ३५ स्थानमा ‘डीप बोरिङ’ खन्ने कार्य अघि बढाइएको जनाउँदै अर्को वर्ष थप स्थानमा सिञ्चाई सुविधा पुर्याइने उहाँले जानकारी दिनुभयो ।

“केही स्थानमा ‘डीप बोरिङ’को काम सकेका छौं, परीक्षणका लागि पानी फ्याक्ने कार्य भइरहेको छ,” इन्जिनियर नेम्बाङले भन्नुभयो–“एउटा बोरिङको पानीले ६० बिगाहसम्म सिञ्चाई हुन्छ । एक सय ३० मिटर गहिराईबाट पानी निकालेका छौं ।” प्रति सेकेन्ड २० लिटरका दरले ‘डीप बोरिङ’बाट पानी आइरहेको उहाँले बताउनुभयो ।

आयोजनाले किसानहरुलाई सामूहिक रुपमा सुविधा उपलब्ध गराउने भएकाले परियोजनामा किसानहरुको सहकार्य बलियो हुने देखिएको छ । सरकारका तर्फबाट ‘डीप बोरिङ’ खन्ने कार्य सकेपछि हाइटेन्सन लाइनबाट बिजुलीको सुविधा पुर्याउने र खेतखेतमा पानी वितरणका लागि पाइप बिछ्याउने कार्य सम्पन्न गरिने भएको छ ।

विद्युतीकरण, पाइप विस्तार र २५ देखि ५० केभीएसम्मको ट्रान्फरमर जडानको सम्पूर्ण लागत आयोजनाले नै व्यहोर्ने इन्जिनियर नेम्बाङले बताउनुभयो । खेतमा पानी पटाउन सहज होस् भनेर हरेक चार बिगाहा जग्गामा एउटाका दरले पानीको पोइन्ट राखिने परियोजनाले जनाएको छ ।

किसानहरु उत्साही

आकाशे वर्षाको सिञ्चाइमा निर्भर स्थानीय किसानहरु अब विद्युतबाट चल्ने भूमिगत सिञ्चाई आयोजना गाउँमा आएपछि उत्साही भएका छन् ।

कचनकबल गाउँपालिका वडा नं १ सोमबारेकी भागिरथा अधिकारीले आफ्नो वडामा नै आठ वटा जल उपभोक्ता समिति गठन भइसकेको बताउनुभयो । कचनकबलमा धान, मकै र तोरी गरी नियमित तीन बाली खेती हुने गरेको छ । 

बाहैं महिना सिञ्चाई सुविधा उपलब्ध भएपछि किसानहरुले व्यावसायिक तरकारी खेती गर्ने तयारी गरिरहेको समेत उहाँले जानकारी दिनुभयो । “निर्वाहमुखी खेतीबाट व्यावसायिक खेतीतर्फ जाने सोचाइमा छन् यहाँका किसान,” उहाँले भन्नुभयो–“सरकारले ल्याएको भूमिगत सिञ्चाई परियोजनाले जीवनस्तर उकास्ने आशा गरेका छौं ।”

अधिकारी सोही वडाको सोमबारे जल उपभोक्ता समितिको अध्यक्ष हुनुहुन्छ । उहाँको क्षेत्रमा परियोजनाले डीप बोरिङ, ट्याङ्की निर्माण र पाइपलाइन विस्तारको कार्य सकेको छ भने विद्युतीकरणको कार्य अन्तिम चरणमा पुगेको छ ।

जिल्लाभर परियोजना विस्तार

नेपाल सरकारले कचनकबल र भद्रपुरमा मात्र भूमिगत सिञ्चाई परियोजना लागू गर्ने योजनाका साथ कार्यारम्भ गरेको भए तापनि स्थानीयको माग बढेपछि जिल्लाभर विस्तार गरिने भएको छ ।

झापा निर्वाचन क्षेत्र नं। १ का प्रतिनिधिसभा सदस्य राजेन्द्र लिङ्देन दुई महिना अघि ऊर्जा, जलश्रोत तथा सिञ्चाई मन्त्री रहेको बेला मन्त्रिपरिषद्को बैठकले परियोजनालाई झापा जिल्लाभर विस्तार गरिने निर्णय गरेको थियो ।

मन्त्रिपरिषद्को सोही निर्णय अनुसार आयोजनाले हाल कचनकबल र भद्रपुरसहित अन्य पालिकाहरुबाट समेत उपभोक्ता समितिहरुको माग संकलन गरिरहेको आयोजनाका इन्जिनियर भूविक्रम नेम्बाङले बताउनुभयो ।

विभिन्न पालिकाबाट माग आए बमोजिम १२ वटा स्थानमा परियोजनाले ‘डीप बोरिङ’ थप्ने भएको उहाँले जानकारी दिनुभयो ।

https://fb.watch/jycoyIkPoS/

लेखकको बारेमा
Image
अम्बिका भण्डारी
अम्बिका भण्डारी  राष्ट्रिय समाचार समितिको समाचारदाता समेत हुनुहुन्छ ।