२ जेठ २०८१, बुधवार

‘झापा इनर्जी’को उद्घाटन गर्न ओली आउँदै

८ माघ २०८०, सोमवार
Image

झापा, ८ माघ । मुलुककै ठूलो सौर्य परियोजना ‘झापा इनर्जी’को माघ २३ गते उद्घाटन हुने भएको छ । यो झापाको पहिलो विद्युत उत्पादन गृह हो ।

शिवसताक्षी–४ सालमारामा झापा इनर्जीले निर्माण गरेको सौर्य ऊर्जा परियोजनाबाट १० मेगावाट विद्युत उत्पादन भइरहेको छ ।

पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले परियोजनाको उद्घाटन गर्ने कार्यक्रम तय भएको झापा इनर्जीका प्रबन्ध सञ्चालक सुवास भट्टराईले बताउनुभयो ।

सोलार प्यानलमार्फत फुलफेजमा उत्पादित विजुली नेपाल विद्युत प्राधिकरणको बुलुचोक सबस्टेसनमा जोडिएको छ । यहाँबाट उत्पादित विजुलीको नमूना परीक्षण सकिएर निरन्तर उत्पादन सुरु भइसकेको उहाँले बताउनुभयो ।

परियोजनामा रु. ८० करोड लगानी छ भने २१ विगाहा जमिनमा सोलार प्यानल विस्तार गरिएको छ ।

पूर्व पश्चिम राजमार्गको दूधे बजारबाट करीव १० किलोमिटर दक्षिण ग्रामीण क्षेत्रमा परियोजना स्थल रहेको छ । आयोजना र प्राधिकरणबीच २०७८ मंसिर १२ मै विद्युत् खरिद प्रतियूनिट सात रुपैयाँ ३० पैसाका दरले गर्ने सम्झौता भएको थियो । 

झापा निर्वाचन क्षेत्र नं. ४ का प्रतिनिधिसभा सदस्य लालप्रसाद साँवाको परिकल्पनामा चार वर्ष अघि  सुरु भएको सौर्य ऊर्जा परियोजनाको शिलान्यास वि.सं. २०७८ सालमा संविधान सभाका अध्यक्ष सुवास नेम्वाङले गर्नुभएको थियो ।

नेपालमा हाल २९ मेगावाट सौर्य विद्युत उत्पादन भइरहेको र सन् २०३० सम्ममा यसलाई बढाएर एक हजार मेगावाट पुर्याउने राष्ट्रिय लक्ष्य रहेको कम्पनीका अध्यक्ष साँवाले बताउनुभयो ।