१८ मंसिर २०८१, मङ्गलवार

आयोजकले जित्यो रोलिङ च्यालेन्ज कपको उपाधि

१० कार्तिक २०८१, शनिवार
Image

झापा, १० कात्तिक । झापाको धुलाबारीमा सम्पन्न आठौं संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण रोलिङ च्यालेन्ज कपको उपाधि आयोजक रोलिङ क्लबले जितेको छ ।

मेचीनगरको धुलाबारीमा आज भएको फाइनल खेलमा पाहुना टोली भारतको मानेभञ्ज्याङ फुटबल क्लबलाई आयोजक रोलिङ क्लवले टाइब्रेकरमा पराजित गरेको हो । टाइब्रेकरमा रोलिङ क्लवले मानेभञ्ज्याङलाई ३–१ गोल अन्तरले जित निकालेको हो ।

खेलको ४२ औँ मिनेटमा रोलिङ क्लवका लागि रोहण कार्कीले पहिलो गोल गर्नुभएको थियो । मानेभञ्ज्याङका लागि ६६ औँ मिनेटमा कप्तान सोनाम जङ्पोले एक गोल गर्दै खेललाई बराबरीमा पुर्याउनु भएको थियो ।

फाइनल खेलको प्लेयर अफ दी म्याच रोलिङ क्लवका गोल रक्षक युवराज पुरीलाई प्रदान गरिएको थियो । उहाँलाई नगद रु. पाँच हजार र ट्रफी दिइएको थियो ।

उपाधि बिजेता रोलिङ क्लवले नगद रु. तीन लाख, ट्रफी र मेडल प्राप्त गर्यो भने उपविजेता मानेभञ्ज्याङले नगद रु. एक लाख ५० हजार, ट्रफी र मेडल प्राप्त गरेको थियो ।

प्रतियोगिता अवधिभरको उत्कृष्ट गोलरक्षक रोलिङ क्लवका अभिषेक बराल, उत्कृष्ट डिफेन्डर रोलिङ क्लवका सेमन्त थापा, उत्कृष्ट मिडफिल्डर मानेभञ्ज्याङका रोबर्ट, उदीयमान खेलाडी रोलिङ क्लवका निरज कार्की, उच्च गोलकर्ता रोलिङ क्लवका उत्सव राई र प्रशिक्षक रोलिङ क्लवका सचिन्द्र धिमाल हुनुभएको छ । 

रोलिङ क्लवका रोहण कार्की सर्वोत्कृष्ट खेलाडीको रुपमा पुरस्कृत हुनुभएको छ । कात्तिक ३ गते सुरु भएको प्रतियोगितामा नेपाल र भारतका जम्मा आठ वटा टोलीको सहभागिता रहेको थियो ।