२१ वैशाख २०८२, आइतवार

काँकरभिट्टामा ४० करोडको ‘बहुतले बस टर्मिनल’ बनाउने सहमति

२० वैशाख २०८२, शनिवार
Image

(समाचारमा प्रयोग भएको चित्र नमुनाका लागि मात्र हो।)

झापा, २० वैशाख । काँकरभिट्टाको बहुतले बस टर्मिनल निर्माण परियोजनामा काठमाडौंको दीर्घायू बिजनेस ग्रुपले लगानी गर्ने सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर गरेको छ ।

विराटनगरमा सम्पन्न कोशी लगानी सम्मेलनमा उक्त परियोजनालाई लगानीका लागि शोकेसमा राखिएको थियो ।

नगरकी उपप्रमुख मीना उप्रेतीका अनुसार दीर्घायू बिजनेस ग्रुपले सम्मेलनकै क्रममा रु. ४० करोडमा बस टर्मिनल बनाउने सहमति गरेको हो ।

पूर्वीनाका काँकरभिट्टाको बसपार्कमा निर्माण गरिने सो स्थानको जग्गाको स्वामित्व सरकारकै भए तापनि औपचारिक रुपमा जग्गा प्राप्ति हुन बाँकी छ ।

लगानी सम्मेलनमा नगर प्रमुख गोपाल बुढाथोकी, उपप्रमुख उप्रेती लगायतको मेचीनगरको टोली सहभागी भएको थियो । बस टर्मिनल निर्माण परियोजनामा केही महिना अघिदेखि नै कोरियन लगानीकर्ताहरुले चासो व्यक्त गरिरहेका थिए ।

कोरियाली लगानीकर्ताको टोलीलाई नगरपालिकाले इटाभट्टाको होटल अश्वत्थमा एक समारोह आयोजना गरी मेचीनगरका परियोजना र लगानीका सम्भाव्यता सम्बन्धमा जानकारी गराएको थियो ।

टोलीले यसै निर्वाचन क्षेत्रका संघीय सांसद् तथा नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मालाई समेत भेटेर बस टर्मिनल परियोजना निर्माणमा चासो व्यक्त गरेका थिए ।


सम्बन्धित खबर