१९ फागुन २०८२, मङ्गलवार

मन्दिरलाई चन्द्रेश्वर धाम बनाउन महायज्ञको आयोजना हुँदै

२३ वैशाख २०८२, मङ्गलवार
Image

झापा, २२ वैशाख । मेचीनगर–३ तेलपानीस्थित चन्द्रेश्वर शिव पाञ्चायन मन्दिरमा बुधवारदेखि श्रीमद्भागवत महायज्ञ  हुने भएको छ ।

वैशाख २४ देखि ३० गतेसम्म सात दिन सञ्चालन हुने उक्त महायज्ञमा पं. दिनानाथ सापकोटा र मोहन भट्टराईले कथावाचन गर्नुहुने आज आयोजित पत्रकार सम्मेलनमा मन्दिरका संरक्षक एवम् संस्थापक गुरु ख्यामप्रसाद खनालले बताउनुभयो ।

मन्दिर रहेको स्थान पौराणिक कालदेखिकै ऋषिमुनीहरुको तपोस्थल भएको चर्चा गर्दै महायज्ञबाट संकलन हुने सहयोगले मन्दिरलाई जीर्णोद्धार गरी चन्द्रेश्वर धामको रुपमा विकास गरिने उहाँले बताउनुभयो । महायज्ञमा संगीतमय कथावाचन हुने र देश विदेशबाट समेत भक्तजनहरु आउने भएका जनाइएको छ ।

“सामाजिक र धार्मिक भावनाले ओतप्रोत भएर सार्वजनिक हितका लागि महायज्ञको आयोजना गर्न लागिरहेका छौं,” खनालले मन्दिर परिसरमै आज भएको पत्रकार सम्मेलनमा भन्नुभयो–“मैले स्थापना गरेर आजसम्म ल्याएको यो मन्दिरलाई चन्द्रेश्वर धामको रुपमा समाजमा हस्तान्तरण गर्ने सोचेको छु । यस अनुष्ठानलाई सफल बनाउन सबै धार्मिक महानुभाव, सामाजिक व्यक्तित्वहरु र पत्रकार मित्रहरुको पूर्ण सहयोग रहनेमा आशाबादी छु ।”

धार्मिक व्यक्तित्व शिवसताक्षीका शान्तिराम ढकालले वि.सं. २०७२ असोज ९ गते गुरु ख्यामप्रसाद खनालले तामाको खडकुलोमा शिव स्वरुपको सानो शीला स्थापना गरेर मन्दिरको प्रारम्भ गर्नु भएको र पहिलोपल्ट २०७३ वैशाख १० देखि १८ गतेसम्म महापुराण आयोजना भएको बताउनुभयो ।

मन्दिरका संस्थापक गुरु खनालले मन्दिरलाई देशभर चिनाउँदै मेचीलेखि महाकालीसम्म पैदल धार्मिक यात्रा गर्नुभएको र मन्दिरलाई धामको रुपमा विकास गर्ने पवित्र मनसायका साथ यसपटक महायज्ञको संकल्प गर्नु भएको ढकालले बताउनुभयो । 

पूर्वशिक्षक एवम् वडाबासी मनोरथ काफ्लेले आफ्नो गाउँ मेचीनगरकै पिछडिएको क्षेत्र भएको जनाउँदै धार्मिक दृष्टिले विकास हुनेगरी मन्दिरलाई धामको रुपमा लैजाने घोषणाले गाउँमा खुशीयाली छाएको बताउनुभयो ।

उहाँले मन्दिर रहेको स्थानबाट एक किलोमिटर दक्षिणमा हिन्दूगढ र उत्तरमा खुम्बुटार, लिम्बुटार, स्याङ्लेङटार आदि स्थान भएको उल्लेख गर्दै नजिकमा पवित्र गंगासरहको नदी बग्ने भएकाले यस स्थानलाई देवताको बास रहेको स्थान भन्न सकिने धारणा व्यक्त गर्नुभयो ।