२३ वैशाख २०८२, मङ्गलवार

जंगबहादुरकी रानीको सम्झना गर्दै मेचीनगरमा ‘नीलसरी महोत्सव’

२३ वैशाख २०८२, मङ्गलवार
Image

झापा, २ वैशाख । ओझेलमा परेकी ऐतिहासिक पात्र नीलसरी मेचेको सम्झनासहित मेचे समुदायको भाषा, संस्कृति, साहित्य र कलाको जगेर्ना गर्ने उद्देश्यले मेचीनगरमा ‘नीलसरी महोत्सव’ सुरु भएको छ ।

मेचीनगरको वडा नं. ७ जोरसिमलमा मेचीनगर नगरपालिकाका नगरप्रमुख गोपाल बुढाथोकीले सोमवार महोत्सवको उद्घाटन गर्दै ऐतिहासिक चर्चित पात्र नीलसरीको इतिहास उत्खनन गर्न समेत महोत्सवले सहयोग पुर्याउने बताउनुभयो ।

वैशाख २९ गतेसम्म सञ्चालन हुने महोत्सवमा मेचे समुदायको भाषा, साहित्य, संस्कृति र कलाका विषयमा विज्ञहरुको सहभागितामा विभिन्न छलफलहरु आयोजना हुने भएको छ । कार्यक्रममा समुदायको जातीय झाँकी, सांस्कृतिक प्रस्तुति र रैथाने खानाको समेत प्रदर्शनी गरिने आयोजक जोरसिमल मेचे समाज विकास समितिका सचिव सञ्जय मेचेले जानकारी दिनुभयो ।

संस्थाका अध्यक्ष सुन्दर मेचेले आफ्नो समुदायको जनसंख्या पाँच हजार १९३ रहेको जनाउँदै मेचेको सघन बसोबास झापा जिल्लामा मात्र रहेको बताउनुभयो । झापाको मेचीनगर र हल्दिबारी मेचे समुदायको बसोबास भएको पालिका हो ।

नीलसरी मेचे श्री ३ जंगबहादुर राणाकी मन पराइएकी रानी भएको इतिहासकारहरुले चर्चा गरेका छन् । मेचीनगरको धुलाबारीमा बसोबास गर्ने उजिरसिंह मेचेकी छोरी नीलसरीलाई जंगबहादुरले शिकार खेल्न आएका बेला मन पराएर रानी बनाएको इतिहास भेटिएको जोरसिमल मेचे समाज विकास समितिका सचिव सञ्जय मेचेले बताउनुभयो ।

“जंगबहादुर राणा शिकार खेल्न कनकाईदेखि मेची नदीसम्मको भागमा आउनु भएको थियो,” मेचेले भन्नुभयो–“मेचीनगर–८ घैलाडुब्बा आसपासको पालिया खोलामा नुहाउँदै गरेको अवस्थामा नीलसरीलाई देखेर उहाँ मोहित हुनुभयो । त्यसपछि शिकार खेलेर राजधानी फर्किने बेलामा नीलसरीलाई विवाह गरी रानी बनाउनु भएको थियो ।”

नीलसरीका बुवा उजिरसिंह मेचेको चौथो पुस्ता हाल मेचीनगरमै बसोबास गरिरहेको उहाँको भनाई छ । ऐतिहासिक पात्र भएकै कारण नीलसरीको सम्झना र मेचे समुदायको संस्कृतिको संरक्षण गर्न महोत्सवको आयोजना गरिएको उहाँले बताउनुभयो । महोत्सवमा नेपाल र भारतमा रहेको मेचे समुदायको सहभागिता रहने जनाइएको छ ।