२६ वैशाख २०८२, शुक्रवार

हस्पिटलबाटै हिरासत गुजारेका शिवाकोटी आइतवार मात्रै धरौटीमा छुट्ने

२६ वैशाख २०८२, शुक्रवार
Image

झापा, २६ वैशाख । नावालिकामाथि यौन दूव्र्यहारको आरोपमा थुनामा रहेका विर्तामोडका पूर्व नगरप्रमुख ध्रुव शिवाकोटीलाई उच्च अदालतले धरौटीमा छाड्ने आदेश गरेको छ ।

झापा जिल्ला अदालतले  २०८१ पुस २२ गते पुर्पक्षका लागि शिवाकोटीलाई कारागार चलान गर्ने आदेश दिएको थियो । जिल्ला अदालतको आदेश उल्टाउँदै शिवाकोटीलाई उच्च अदालत विराटनगरको इलाम इजलासले रु. २० लाख धरौटीमा छाड्न विहीवार आदेश दिएको हो ।

धरौटीमा छाड्ने आदेश न्यायाधीश किरणकुमार पोखरेल र रेखा थापा पाण्डेले दिनु भएको हो । 

धर्मछोरीको रुपमा बस्दै आएकी एक नावालिकाका तर्फबाट उनकी हजुरआमाले २०८१ मंसिर २४ गते प्रहरीमा जाहेरी दिएकी थिइन् । स्वास्थ्यको कारण देखाउँदै शिवाकोटी बिगत पाँच महिनादेखि बीएन्डसी हस्पिटलमा थिए । हस्पिटलबाटै हिरासत र पुर्पक्षको अवधि गुजारेका शिवाकोटी आगामी आइतवार मात्र धरौटीमा छुट्ने बुझिएको छ ।

शुक्रवार र शनिवार अदालत विदा रहने भएकाले प्रक्रिया पूरा गर्न आइतवार लाग्ने अदालत स्रोतले जनाएको छ ।