झापा, २६ वैशाख । झापाको प्रमुख व्यापारिक केन्द्र विर्तामोड र साविकको सदरमुकाम चन्द्रगढी जोड्ने १२ किलोमिटर चार लेन सडकको स्तरोन्नति कार्य दोस्रो पटकको म्याद गुज्रिदा समेत सम्पन्न हुन सकेन ।
चन्द्रगढी विमानस्थल, प्रादेशिक अस्पताल, मेची बहुमुखी क्याम्पस लगायतका महत्त्वपूर्ण स्थानसम्म आवतजावत गर्न सहज हुने उक्त सडकको निर्माण सम्बन्धी ठेक्का काठमाडौंको कन्टेक निर्माण प्रालिले रु. एक अर्बमा लिएको थियो ।
वि.सं. २०७७ माघ ६ गते भएको ठेक्का सम्झौतामा वि.सं. २०८० साउन मसान्तसम्ममा सडकको निर्माण कार्य सम्पन्न गरिसक्ने उल्लेख भएको सडक डिभिजन कार्यालय दमकका साइट इन्जिनियर उज्ज्वल खतिवडाले बताउनुभयो ।
विर्तामोडस्थित पूर्वपश्चिम राजमार्गदेखि धौलापुलसम्मको चार किलोमिटर सडक स्तरोन्नति गरेपछि निर्माण व्यवसायी कन्टेक निर्माण प्रालिले बाँकी आठ किलोमिटर सडक अलपत्र पारेको थियो ।
खतिवडाका अनुसार पहिलो म्यादभित्र काम अलपत्र भएपछि सडक निर्माणको म्याद थपेर वि.सं. २०८१ पुस २९ गतेसम्म पुर्याइएको थियो । उक्त दोस्रो म्यादसम्बन्धी सम्झौता अनुसार गरामनीको धौलापुलदेखि चन्द्रगढीको भैरवचोकसम्मको आठ किलोमिटर सडक तोकिएको समयमा बनाउनु पर्ने उल्लेख थियो ।
धौलापुलदेखि भैरवचोकसम्मको सडक खण्डको लागत रु. ५८ करोड रहेको छ । तर, निर्माण व्यवसायी पक्षले सो सडक खण्डमा साढे चार किलोमिटर मात्र कालोपत्रे गरेको छ । बाँकी साढे तीन किलोमिटर खण्ड अलपत्र छ ।
“पहिलो म्यादभित्रको दुई वर्षसम्म ठेक्का लिएको पक्षले काममा ढिलासुस्ती गर्यो,” सडक डिभिजन कार्यालय दमकका प्रमुख श्यामकुमार यादवले भन्नुभयो–“दोस्रो पटकको म्यादमा कामले रफ्तार लिएको थियो । तर, स्थानीयबासीले सडक छेउको जग्गाको मुआब्जा दावी गर्दा काम अवरुद्ध भयो ।”
लेखनाथ चोकका २१ जना स्थानीयबासीले सडक निर्माणमा आफ्नो जग्गा परेको भन्दै अदालतमा मुद्धा हालेपछि सडकको निर्माण कार्य अघि बढ्न नसकेको उहाँले बताउनुभयो । अहिले दोस्रो म्याद पनि गुज्रिएको छ । उहाँले भन्नुभयो–“दोस्रो म्यादभित्र काम सम्पन्न हुनु सकेको छैन । फेरि नयाँ म्याद पनि थपिएको छैन ।”
पहिलो चरणमा विर्तामोडदेखि धौलापुलसम्म चार लेन सडकको पूर्णरुपमा निर्माण कार्य सकिएको छ । विर्तामोड नगरपालिकाले सडकको लेन विभाजन गर्ने मध्यभागमा मनमोहक बगैचा निर्माण गरेर फुल र हरियाली हुर्काएको छ ।
दोस्रो चरणमा बनेको धौलापुलदेखि देउनिया पुलसम्मको चार लेन सडकमा कालोपत्रे हाल्ने कार्य सम्पन्न भइसकेको छ । यहाँ फुटपाथ र सौन्दर्यकरणको काम भने बाँकी नै छ । गरामनीको केही भागमा भने कालोपत्रे गर्ने कार्य बाँकी नै रहेको साइट इन्जिनियर खतिवडाले जानकारी दिनुभयो ।
लेखनाथ चोकका २१ घर परिवारले मुआब्जा माग्दै सर्वोच्च अदालतमा दिएको निवेदनका आधारमा हाल काम रोक्ने आदेश जारी भएको छ । सो सडक खण्डको विवाद नभएको स्थानमा ड्रेन, कल्भर्ट लगायतका निर्माण कार्य भइसकेका छन् ।