झापा, २८ वैशाख । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को मेचीनगर अधिवेशन सोमवार काँकरभिट्टामा हुने भएको छ ।
पाँच वर्षे कार्यकालका लागि अधिवेशनले सभापतिसहित नयाँ कार्य समिति निर्वाचित गर्नेछ ।
काँकरभिट्टा खानेपानी कार्यालयको सभाहलमा हुने अधिवेशनको उद्घाटन गर्न कार्यवाहक सभापति डीपी अर्याल आउनु हुने छ । उद्घाटन अवसरमा सांसद् तोसिमा कार्की, पार्टीका सहप्रवक्ता रमेश प्रसाई लगायतका केन्द्रीय नेताहरु आउनु हुने भएको छ ।
बलियो जनाधार भएको मेचीनगरमा रास्वपाको तदर्थ नगर समितिको सभापतिमा कमल गौतम हुनुहुन्छ । आगामी पाँच वर्षका लागि उहाँले नदोहोरिने इच्छा राख्नु भएको पार्टीका कार्यकर्ताहरु बताउँछन् ।
सभापति पदमा युवा नेताहरु सन्तोष राजबंशी र असीम दाहालले आकांक्षा राख्नु भएको छ ।
आदिवासी समुदायबाट जिल्लाको कुनै पनि पालिकामा सभापति नभएकाले मेचीनगरले सन्तोष राजबंशीलाई सर्वसम्मत रुपमा अघि बढाउने सम्भावना छ । तदर्थ समितिमा उपसभापति रहनु भएको राजबंशी शिक्षण पेशाबाट राजनीतिमा आउनु भएको हो ।
सभापति पदको अर्का दावेदार असिम दाहाल तदर्थ समितिका सचिव हुनुहुन्छ ।