झापा, २९ वैशाख । झापा जिल्लाभित्र विचरण गर्दै आएका रैथाने जंगली हात्तीको पहिचान गरी तिनीहरुको नामाकरण गरिएको छ ।
मेचीनगर नगरपालिका, इसिमोड र उज्यालो नेपालको पहलमा बन्यजन्तु संरक्षणकर्मी शंकर लुइँटेलले जंगली हात्तीहरुको बारेमा एक दशक लामो अध्ययन गरेपछि व्यवहार र स्वरुपका आधारमा नाम दिनु भएको हो ।
‘झापाका रैथाने हात्तीहरु’ नामक पुस्तिकामार्फत हात्तीका नामहरु सार्वजनिक गरिएको छ । स्थानीय जंगललाई बासस्थान बनाउँदै आएका यी रैथाने हात्तीहरु पूर्वी नेपालको झापादेखि पश्चिममा उदयपुर र पूर्वमा भारतको आसामसम्म ओहोरदोहोर गर्दै आएको मेचीनगर नगरपालिका वडा नं. ४ का अध्यक्ष अर्जुन कार्कीले बताउनुभयो ।
पहेलो दाह्रा भएको र दुबै आँखाको दृष्टि गुमाएको अन्दाजी ४५ वर्षको भाले हात्तीको नाम ‘आँखा हात्ती’ राखिएको छ । मानव वस्तीमा हिँड्दा शान्त स्वभाव देखाउने र एक्लै विचरण गर्न रुचाउने यो हात्तीलाई गाउँलेले ‘अन्धा हात्ती’ पनि भन्ने गर्दथे । ‘अन्धा’ शब्द प्रयोग नहोस् भनेर ‘आँखा हात्ती’ नामाकरण गरिएको वडाध्यक्ष कार्कीले बताउनुभयो ।
नेपाल–भारत सीमा क्षेत्रमा देखा परिरहने र झापाका विभिन्न सामुदायिक बनमा एक्लै डुल्ने लामो र मोटो दुई दाह्रा भएको अर्को वयस्क हात्तीको नाम ‘ठूलो दाह्रे’ राखिएको छ ।
मझौला दाह्रा र चञ्चले स्वभाव भएको १२ वर्ष उमेरको हात्तीको नाम ‘चुलबुल गज’ र दाह्रा विपरीत दिशामा बाहिरतिर फैलिएको अन्दाजी ५५ वर्षको अर्को हात्तीको नाम ‘घुमन्ते राजगज’ राखिएको छ ।
अरु हात्तीहरुको नाम मुलादन्ते, घुमन्ते गज, ढिकीच्याउँ दाह्रे, ठुटे, प्रसाद गज र एक दाह्रे सानो गज राखिएको छ । भारतबाट नेपालतिर हात्ती प्रवेश गर्ने विभिन्न नाकामध्येको प्रसाद गौडाबाट मात्र हिँड्ने स्वभाव भएका कारण एउटा हात्तीको नाम ‘प्रसाद गज’ राखिएको हो । मुलादन्ते हात्तीको दाह्रा मुला जस्तो आकारको छ भने ढिकीच्याउँ हात्तीको दुईवटा दाह्रा तल र माथितिर फैलिएको छ ।
बिगत आधा शताब्दीदेखि मानव–हात्ती द्वन्द्व भोग्दै आएको बाहुनडाँगीमा संरक्षणकर्मीको रुपमा लुइँटेलले जंगली हात्तीको आनीबानी र शारीरिक बनावटको गहिरो अध्ययन गर्नु भएको कार्कीले बताउनुभयो ।
उहाँले कुन हात्ती कस्तो छ भनेर चिन्न र त्यही अनुसार हात्तीमैत्री असल व्यवहार गर्न सहयोग पुगोस् भनेर रैथाने हात्तीको नामाकरण गरिएको बताउनुभयो । नेपालमा पाइने रैथाने हात्तीहरु एसियाली हात्तीको भारतीय उपप्रजाति अन्तर्गत पर्दछन् ।
“उहाँ यहाँ डुल्ने हरेक रैथाने हात्तीलाई टाढैबाट चिन्नुहुन्छ,” हात्तीको नामाकरण गर्नु भएका संरक्षणकर्मी शंकर लुइँटेलका बारेमा वडाध्यक्ष कार्कीले भन्नुभयो–“उहाँ हात्तीको आनीबानी र रुपसँग परिचित हुनुहुन्छ । उहाँलाई पनि हात्तीले चिन्छन् ।”
(फोटो : दिपेन्द्र कटुवाल)