झापा, २९ बैशाख । असिना र पानीसँगै आएको हावाहुरीले झापाको बाह्रदशी गाउँपालिका वडा नं. ७ मा ३० बिगाहा क्षेत्रफलमा लगाइएको केरा खेतीमा क्षति पुर्याएको छ ।
जिल्ला प्रहरी कार्यालय झापाका निमित्त सूचना अधिकारी प्रविण श्रेष्ठका अनुसार १३ जना कृषक परिवारले ३० बिगाहामा लगाएको केराको बोट हावाहुरीले पूर्णरुपमा ढालेर सोत्तर बनाउँदा रु. ५१ लाख बराबरको क्षति भएको छ ।
झापामा आइतवार राति तीब्र रफ्तारमा हावाहुरी आएको थियो । जिल्लाका विभिन्न पालिकामा हावाहुरीले घर, उद्योग र कृषि बालीमा क्षति पुर्याए तापनि मानवीय एवम् चौपाया भने क्षति नभएको प्रहरीले जनाएको छ ।
सोही हावाहुरीले हल्दिबारी गाउँपालिका वडा नं. ४ का सकलदिप साहको तीन कोठे घरको टाटीबेरा र छाना उडाएको छ । उहाँको रु. एक लाख ५० हजार बराबरको क्षति भएको छ ।
यसैगरी, मेचीनगर वडा नं. १० स्थित कामक्ष प्लाइउड इन्डस्ट्रिजको पिलिङ भवनको छाना हावाहुरीले उडाएको छ । हावाहुरीले रु. दुई लाख २० हजार बराबरको क्षति भएको छ।
दमक नगरपालिका वडा नं. ८ मा दुर्गा प्रसाईले सञ्चालन गरेको गोदाम घरको जस्ता पाताको छानो र फलामे पाइपमा हावाहुरीले रु. एक लाख ५० हजार बराबरको क्षति पुर्याएको छ ।
सोही नगरपालिकाको वडा नं. ४ मा पक्की घरको छाना उडाएर कमला अधिकारीको रु. ३० हजार र भीमप्रसाद सिग्देलको रु. ६० हजार बराबरको क्षति भएको छ ।