झापा, ३१ वैशाख । नेपाल रेडक्रस सोसाइटी झापाका अध्यक्ष लोकराज ढकालले यसपाली बर्खामा राजमार्ग निर्माणको ढिलासुस्तीका कारण विपद् आउने चेतावनी दिनु भएको छ ।
बर्खा सुरु हुन लाग्यो, बाटोघाटोको अवस्था नाजुक छ,’ राहत सामाग्री भण्डारण गरिरहेका रेडक्रसकर्मीहरुको फोटो आज सामाजिक सञ्जालमा पोस्ट गर्दै उहाँले लेख्नु भएको छ–‘यो वर्ष आवतजावतमा धेरै कठिनाई हुन्छ जस्तो देखियो ।’
उहाँले एसियाली राजमार्ग र हुलाकी राजमार्ग दुबैको निर्माणमा ढिलासुस्ती भइरहेको इंगित गर्दै फेसबुकमा भावी विपद्को चेतावनी दिनुभएको हो ।
एसियाली राजमार्गअन्तर्गत काँकडभिट्टाबाट पाडाजुँगीसम्म निर्माणाधीन पूर्वपश्चिम राजमार्गको ४५ किलोमिटर पूर्वीखण्डको स्तरोन्नति कार्य सुस्त गतिमा भइरहेको छ भने हुलाकी राजमार्ग अन्तर्गत विरिङ र कनकाई पुल निर्माणमा लापरवाही भइरहेको छ ।
उहाँल अबको केही दिनपछि झापाको एउटा पालिकाबाट अर्को पालिकामा आउजाउ गर्न नसकिने अवस्था सिर्जना हुने भएकाले त्यस्तो विपद्सँग जुध्न अहिलेदेखि नै पूर्वतयारी गर्नुपर्ने धारणा व्यक्त गर्नु भएको छ ।
एभ्रास्कन कालिका जेभीले निर्माणको ठेक्का पाएको एसियाली राजमार्गको काँकडभिट्टा–लौकही सडक योजना (पूर्वी खण्ड) दमक कार्यालयका आयोजना प्रमुख ई सुनिलबाबु पन्तले सडक स्तरोन्नतिको गति बढाउन ठेकेदार पक्षलाई निर्देशन दिइसकेको खबर एक महिना अघि नै सार्वजनिक भइसकेको छ ।
सरकारसँग गरेको सम्झौता बमोजिम २०८३ माघ १९ गतेसम्ममा एसियाली राजमार्ग निर्माण भइसक्नु पर्ने हो । सडक निर्माण सम्झौताको पहिलो वर्षमा १२ प्रतिशत र हाल मुस्किलले २० प्रतिशत मात्र प्रगति भएको छ ।
दर्जनौं निर्माणाधीन पुल, कल्भर्ट र त्यसका लागि निर्मित डाइभर्सनका कारण बर्खामा राजमार्ग जलमग्न हुने र यातायात अवरुद्ध हुने अवस्था छ ।