४ जेठ २०८२, शनिवार

हाम्रो मेचीनगर

मेचीनगरका क्षयरोग संक्रमितलाई अण्डा र दाल–चामल सित्तैमा

३ जेठ २०८२, शुक्रवार
Image

झापा, २ जेठ । मेचीनगर नगरपालिकाले क्षयरोग नियन्त्रणका लागि प्रत्यक्ष निगरानीमा औषधि खान विरामीलाई प्रोत्साहित गर्दै पोषणयुक्त खानेकुरा दिन थालेको छ ।

पन्ध्र वटा वडामा रहेका आधारभूत स्वास्थ्य केन्द्रमार्फत क्षयरोगका संक्रमितलाई स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानीमा औषधि खुवाउने कार्यक्रम अन्तर्गत बिरामीलाई कुखुराको अण्डा, बदाम, सातु र चामल दिने गरिएको मेचीनगरका नगरप्रमुख गोपाल बुढाथोकीले बताउनुभयो ।

मेचीनगर नगरपालिकाले वि.सं. २०८४ अगावै क्षयरोग नियन्त्रण गर्ने अभियान सञ्चालन गरिरहेको छ । सरकारले निःशुल्क औषधि उपलब्ध गराउँदै आए तापनि बिरामीहरुले नियमित औषधि सेवन नगरिदिँदा रोग बल्झिने र संक्रमण नघट्ने समस्या छ ।

रोग लुकाएर बसिरहेकाहरुको खोज पड्ताल गर्ने र संक्रमण पुष्टि भइसकेकाहरुलाई स्वास्थ्यकर्मीकै प्रत्यक्ष निगरानीमा औषधि खुवाउने व्यवस्था मिलाइएको नगरप्रमुख बुढाथोकीले बताउनुभयो । छ महिना औषधि सेवनपछि क्षयरोग निको हुन्छ । 

संक्रमण पुष्टि भएका नगरबासीलाई एक बोरा चामल, एक क्यारेट कुखुराको अण्डा, एक लिटर खानेतेल, एक केजी दाल, एक केजी बदाम र एक केजी सातु नगरपालिकाले निःशुल्क उपलब्ध गराउन थालेको नगरको स्वास्थ्य शाखाकी प्रमुख सविता सापकोटाले जानकारी दिनुभयो ।

नगरपालिकाले पोषणयुक्त खानेकुरा दिने भएपछि क्षयरोगका संक्रमितहरुले नियमित स्वास्थ्य केन्द्रमा जाने र औषधि समेत नियमित रुपमा खाने गरेको पाइएको सापकोटाले बताउनुभयो ।

भूगोल र जनसंख्याका आधारमा मुलुककै ठूलो मेचीनगर नगरपालिकामा हाल १६४ जना संक्रमितले क्षयरोगको नियमित रुपमा स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानीमा औषधि सेवन गरिरहेका छन् ।

नियमित औषधि सेवनका लागि स्वास्थ्य केन्द्र धाउनेहरुमा ६५ वर्षमाथिको संख्या ज्यादा छ । तीन जना एचआइभी संक्रमितले समेत प्रत्यक्ष निगरानी विधि पालन गरेरै औषधि खाइरहेका छन् ।

नगरपालिकाको स्वास्थ्य शाखाले क्षयरोग नियन्त्रण गर्ने लक्ष्य पूरा गर्न स्वास्थ्यकर्मीहरुलाई गाउँ गाउँ पठाएर नयाँ संक्रमितहरुको खोजपड्ताल गर्दै आएको छ । हाल प्रदेश सरकारको प्राविधिक सहयोगमा एआई प्रविधि जडित अत्याधुनिक एक्स–रे मेसिनमार्फत क्षयरोगका १९ जना नयाँ संक्रमितहरु पत्ता लागेको जनाइएको छ ।

क्षयरोगका विरामीहरु स्थानीय सरकारबाट निःशुल्क औषधि र पोषिलो खाद्य बस्तु पाउँदा हर्षित रहेको मेचीनगरका प्रवक्ता एवम् वडा नं. २ का वडाध्यक्ष दिपक बराल बताउनुहुन्छ ।

“उपचारसँगै खाद्यान्न पाउँदा विपन्न परिवारका संक्रमितहरु ज्यादै खुशी हुन्छन्,” बराल भन्नुहन्छ–“हुनेखानेहरु सुविधासम्पन्न निजी अस्पतालमा गएर खर्च गर्न सक्छन् । तर बिहान र बेलुका हातमुख जोड्न अनिश्चित हुने गरेको विपन्न परिवारका लागि चामल, दाल, अण्डा, सातु लगायतका सामान पाउनु निकै ठूलो उपलब्धि हुँदोरहेछ ।”