झापा, १ जेठ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा यतिबेला विश्वको सर्वोच्च शिखर सगरमाथाको नजिक आधार शिविर (बेस क्याम्प)मा पुग्नु भएको छ ।
सगरमाथा आरोहणको अनुमति पाइसक्नु भएको उहाँले बुधवार नै सगरमाथाको बेसक्याम्प पुगिसकेको जानकारी दिइसक्नु भएको थियो । बेसक्याम्प पुगेर उतै रहेका कारण उहाँ सगरमाथा चढिरहनु भएको हो कि भन्ने समाचार प्रकाशित हुन थालिसकेका छन् ।
आज महामन्त्री शर्माले त्यही विषयमा फेसबुकमा एउटा पोस्ट गर्दै यसपाली सगरमाथा आरोहणको सेमीफाइनल अर्थात बेसक्याम्पसम्मको मात्र आरोहण गर्ने स्पष्ट पार्नु भएको छ ।
सञ्चारमाध्यमहरुले सगरमाथा चढिरहेको भन्ने समाचार प्रकाशित गर्न थालेपछि उहाँले आफ्नो आरोहण बारे स्पष्ट पार्नु भएको हो ।
उहाँले अहिले बेसक्याम्पमा बसेर थप तालिम लिइरहेको र उक्त अभ्यास सगरमाथाको फाइनल आरोहणका लागि उपयोगी हुने बताउनु भएको छ ।
‘विश्वप्रकाश शर्मा सगरमाथा चढ्दै भनी लेखिएका समाचारहरु बारे आदरणीय पत्रकार मित्रहरुलाई थोरै स्पष्ट पार्न चाहन्छु,’ उहाँले लेख्नु भएको छ–‘म भर्खर केही दिन यता मात्र बेसक्याम्पमा पुगेको हुँदा न समय पर्याप्त पुगेको छ, न मसँग सगरमाथा आरोहणका लागि जरुरी प्रशिक्षण छ । तर प्रशिक्षण लिदै चाहिँ छु । आखिर यो प्रशिक्षण फाइनल भिड्नै परेका बेला त काम लाग्छ नै । अथवा लोबुचे हिमालभन्दा थोरै माथि पुग्न त यो प्रशिक्षणले सघाउला । हो, त्यति चैं हुनसक्छ ।’
शर्माले यसअघि छ हजार १४५ मिटर अग्लो लोबुचे हिमालको सफल आरोहण गरिसक्नु भएको छ । यसपाली उहाँले लोबुचेको भन्दा केही माथि पुगेर आफ्नै आरोहणको रेकर्ड भने तोड्ने सम्भावना छ ।