झापा, २ जेठ । धुलाबारी माध्यमिक विद्यालयको आफ्नै गीत आज सार्वजनिक भएको छ ।
मेचीनगर नगरपालिकाका नगरप्रमुख गोपाल बुढाथोकीले एक समारोहबीच कम्प्यूटर बोर्डमा फाइल ओपन गरेर गीतको लोकार्पण गर्नुभयो ।
‘धुलाबारी मावि...’ बोलको उक्त गीत सोही विद्यालयका शिक्षक एवम् साहित्यकार मिलनकुमार ढुंगानाले रचना गर्नु भएको हो ।
गीतमा भविन ढुंगानाले संगीत भर्नु भएको छ भने मेचीनगरकै गायिका रोशा फुँयाल, सुनिता तामाङ, भविन ढुंगाना र भानुभक्त ढकालको स्वर गुञ्जिएको छ ।
नगरप्रमुख गोपाल बुढाथोकीले गीत राम्रो रहेको भन्दै धुलाबारी माध्यमिक विद्यालयको शैक्षिक प्रगति अनुकरणीय रहेको बताउनुभयो ।
विद्यालयका पूर्व विद्यार्थी मञ्चका अध्यक्ष ध्र्रुव कनालले नाच्न, गुनगुनाउन, पीटी खेल्न र टिकटक बनाउन सकिने गीतले विद्यालयको पहिचान झल्काएको बताउनुभयो ।
विद्यालयका प्रधान अध्यापक महेन्द्रविलाश लुइँटेल र सहायक प्रधानाध्यापक तेजप्रसाद चम्लागाईले आफ्नै गीत बनाउने विद्यालयको सपना पूरा भएको बताउनुभयो ।
मेचीनगर नगरपालिकाको शिक्षा शाखाका प्रमुख होमप्रसाद भण्डारी र सामाजिक समितिका संयोजक हृदय राजबंशीले गीतको भाषा, भाव र स्वरको प्रशंसा गर्नुभयो ।
विद्यालयका अध्यक्ष गणेशविक्रम नेम्वाङको अध्यक्षतामा भएको कार्यक्रममा नगरपालिकाले कक्षा ११ र १२ का विद्यार्थीलाई प्रदान गरेको वीरेन छात्रवृत्ति वितरण गरिएको थियो ।