झापा, ६ जेठ । एसियाली विकास बैंकको सहयोगमा शहीद मार्ग अन्तर्गत मेचीनगरको खुट्टिडाँगीमा नवनिर्मित सडकको कालोपत्रेमा पानी उम्रिएको छ ।
सडक कालोपत्रे गर्दा खानेपानीको पाइप थिचिएर वा फुटेर सडकमा रसाएर पानीका फोका देखिन थालेको स्थानीयबासी एवम् शिक्षक लीलाप्रसाद भण्डारीले बताउनु भएको छ ।
उहाँले आज विहान सडकबाट पानीका फोका उम्रिरहेको भिडियो समेत फेसबुकमा सार्वजनिक गर्नु भएको छ ।
उहाँले करोडौंको लागतमा निर्माण भइरहेको सडकमा लापर्वाही नहोस् र जिम्मेवार निकायको तत्कालै ध्यान पुगोस् भन्दै खबरदारी गर्नु भएको छ ।
“ठेकेदारले निर्माण सकेको भागको प्राविधिक परीक्षण गराइसकेको होला,” भण्डारीले लेख्नु भएको छ–“यो निर्माणका ठेकेदार कम्पनी, संलग्न कन्सल्टेन्सी र इन्जिनियरको लापर्वाही देखिन्छ ।”
भारतको पटनाको विदेशी कम्पनीले उक्त सडकको ठेक्का लिएको छ । उक्त ठेकेदारबाट स्थानीय निर्माण व्यवसायीले पेटी ठेक्का लिएर सडकको निर्माण गरिरहेका छन् ।
धुलाबारी खानेपानी कार्यालयले जाइकाको सहयोगमा बिगतमा बिछ्याएको पाइपहरु हाल बनेको २ किलोमिटर सडकमुनि रहेको बताइएको छ ।
पानीको पाइप हटाएर सडकको पुनः निर्माण गरिएन भने उक्त सडक कमजोर हुने भन्दै भण्डारीले मेचीनगर नगरपालिकाको ध्यानाकर्षण गराउनु भएको छ ।