झापा, ७ जेठ । संघ, प्रदेश र स्थानीय तहको त्रिपक्षीय लगानीमा बिर्तामोड नगरपालिकामा १४ किलोमिटर लामो चार वटा ठूला सडकको स्तरोन्नति कार्य धमाधम भइरहेको छ ।
हर्कलाल मार्ग, बुट्टाबारी (प्याकुरेल चोक) सडक, गोकुल जोशी मार्ग र शहीद चन्द्र मार्गको सडकको स्तरोन्नति कार्य अन्तिम चरणमा पुगेको सडक डिभिजन कार्यालय दमकका सव–इन्जिनियर मदन साहले जानकारी बताउनुभयो ।
नगरको २,३,४,६,७ र ९ नम्बर वडालाई जोड्ने ती सडक निर्माणको लागत रु. एक अर्बभन्दा बढी रहेको छ । चालू आर्थिक वर्ष २०८१/८२ मा सम्पन्न गर्ने लक्ष्यका साथ सडकमा धमाधम कालोपत्रे भइरहेको सब–इन्जिनियर साहले बताउनुभयो ।
विश्व बैंकको लगानी रहेको वडा नम्बर ६,७ र ८ जोड्ने छ किलोमिटर २५८ मिटर लामो सडकमा हाल कालोपत्रे भइरहेको छ । जेठको तेस्रो सातासम्ममा निर्माण कार्य सम्पन्न हुने आरपी समता जेभीका मनोज उप्रेतीले बताउनुभयो । यो सडक आरपी समता जेभीले रु. ५८ करोडमा निर्माणको ठेक्का लिएको हो ।
बिर्तामोड नगरपालिकालाई हल्दिबारी गाउँपालिकासँग जोड्ने शहीद चन्द्रमार्गको दुई किलोमिटर सडक आगामी १५ दिनभित्र सम्पन्न गर्ने लक्ष्यका साथ तीन खण्डमा कालोपत्रे भइरहेको छ ।
दुई किलोमिटर लामो उक्त सडकको पहिलो खण्डमा रु. पाँच करोड ६० लाखको ठेक्का सिद्धीथुम्का एभरग्रिन जेभीले, दोस्रो खण्डमा ट्रस्ना निर्माण सेवाले रु. ६८ लाखमा र तेस्रो खण्डमा नाम्लाक निर्माण सेवाले रु. एक करोड पाँच लाखमा निर्माणको ठेक्का लिएको छ ।
वडा नम्बर २ देखि ३ हुँदै कनकाई नगरपालिका जोड्ने चारपाने–घैलाडुब्वा एक किलोमिटर सडकको रु. छ करोडको ठेक्कामा शान्ति निर्माण सेवा प्रालिले धमाधम निर्माणको कायए गरिरहेको वडाध्यक्ष किशोर बुढाथोकीले बताउनुभयो ।
विर्तामोड–४ स्थित हर्कलाल मार्गको स्तरोन्नति कार्य तीन खण्डमा भइरहेको छ । प्रदेश र नगरपालिकाको लगानीमा निर्माणाधीन उक्त सडकको बीचको खण्डमा कालोपत्रे गर्ने कार्य सम्पन्न भइसकेको छ भने पहिलो र अन्तिम खण्डमा धमाधम काम भइरहेको छ । उक्त सडकको पहिलो खण्ड रु. एक करोड १३ लाख, दोस्रो खण्ड रु. छ करोड र अन्तिम खण्ड रु. एक करोड ११ लाखमा ठेक्का लागेको हो ।
कोशी प्रदेश सरकार र बिर्तामोड नगरपालिकाको रु. दुई करोड ६० लाख समपूरक बजेटबाट दाहाल गाउँदेखि लालमाटी चोक पश्चिम खण्डसम्म एक किलोमिटर क्षेत्रमा स्तरोन्नति कार्य धमाधम भइरहेको छ । यहाँ केही दिनमा सडक कालोपत्रे गरिने निर्माण व्यवसायी दिनेश मैनालीले जानकारी दिनुभयो ।
बिर्तामोड नगरपालिकाकी नगर प्रमुख पवित्रा महतारा प्रसाईले नगरमा सडक स्तरोन्नतिका धेरै वटा काम भइरहेको बताउनु भयो । निर्धारित समयमा नै काम सम्पन्न गर्न निर्माण व्यवसायी पक्षलाई निर्देशन दिँदै उहाँले आवश्यक अनुगमनसमेत भइरहेको जानकारी दिनुभयो । उहाँले चालु आवमा साना ठूला गरेर विर्तामोडमा रु. दुई अर्बभन्दा बढीका सडक योजना सम्पन्न हुने चरणमा रहेको बताउनु भयो ।