१९ जेठ २०८२, आइतवार

‘सडक असहजता’ले बेलैमा दमकल पुग्न नसकेकोमा नगरप्रमुख बुढाथोकीद्वारा दुःख व्यक्त

८ जेठ २०८२, बुधवार
Image

झापा, ७ जेठ । मेचीनगर नगरपालिकाका नगरप्रमुख गोपाल बुढाथोकीले नगरको वडा नं. ३ र ९ मा भएको आगलागीका घटनामा सडक असहजताका कारण बेलैमा दमकलको सेवा पुर्याउन नसकेकोमा दुःख व्यक्त गर्नु भएको छ ।

आइतवार वडा नं. ३ को भावना चोकको भित्री बस्तीमा लालबहादुर सुब्बाको घरमा आगलागी भएको थियो ।

यसैगरी, मंगलवार वडा नं. ९ को थोप्लेबिरानमा भित्री बस्तीमा स्वस्तिका अधिकारीको घरमा आगलागी भएको थियो ।

दुबै घरमा आगलागीले पुर्याएको क्षतिका कारण दुबै परिवार घरवारविहीन भएका छन् ।

नगरप्रमुख गोपाल बुढाथोकीले दुबै घटनाका आगलागी पीडित परिवारलाई भेटेर गहिरो सहानुभूति प्रकट गर्नु भएको छ । उपप्रमुख मीना उप्रेती र सम्बन्धित वडा अध्यक्षहरु समेत आगलागी भएको घरमा पुग्नु भएको छ ।

उहाँले साँघुरो र निर्माणाधीन अवस्थाको सडकका कारण आगो निभाउन दमकल बेलैमा पुग्न नसकेकोमा दुःख व्यक्त गर्नु भएको नगरप्रमुखको प्रेस संयोजक अर्जुन कार्कीले बताउनु भएको छ ।

नगर प्रमुख बुढाथोकीले नगरका प्रायः सबै क्षेत्रमा धमाधम सडक निर्माण भइरहेको हुँदा दमकललाई घटनास्थल पुग्न समस्या भएको यथार्थ बुझिदिन नगरबासीलाई आग्रह गर्नु भएको समेत प्रेस संयोजक कार्कीले जानकारी दिनुभएको छ ।

आगलागी पीडितलाई क्षतिपूर्तिका लागि छलफल गरिने बुढाथोकीले प्रतिवद्धता व्यक्त गर्नु भएको छ ।