झापा, ७ जेठ । नेपाल आयल निगमको चारआली शाखामा पाँच जना कर्मचारीलाई हुकुमी शैलीको आदेशमा जागिरबाट हटाइएको छ ।
हटाइएका कर्मचारीहरुमा भद्रपुर वडा नं. ९ का आमोद भट्टराई, मेचीनगर वडा नं. १३ की शान्ता पोखरेल, मेचीनगर वडा नं. १३ कै गोविन्द पाठक, मेचीनगर वडा नं. १३ की अस्मिता बिक र सिराहा वडा नं. ३ का चन्द्रकान्त लालदास रहेका छन् ।
पीडितहरुले गत वैशाख २२ गते जिल्ला प्रशासन कार्यालय झापामा प्रमुख जिल्ला अधिकारी गोपाल अधिकारीलाई सम्बोधन गर्दै जागिरमा पुनःस्थापित गर्ने कार्यमा सहयोग पुर्याइदिन निवेदन दिएका छन् ।
उक्त निवेदनमा आयल निगम चारआली शाखाकी प्रमुख गीता सापकोटा धितालले करार र ज्यालादारीमा कार्यरत नौ जना कर्मचारीलाई ‘भोलिदेखि कार्यालयमा काममा नआउनु’ भनेर मौखिक आदेश दिएको उल्लेख छ ।
केन्द्रका डाइरेक्टरको निर्देशन बमोजिम भनेर सापकोटाले भने तापनि केन्द्रमा बुझ्दा कर्मचारी हटाउने कुनै निर्देशन नभएको पत्तो लागेको निवेदनमा पीडितहरुले उल्लेख गरेका छन् ।
मौखिक आदेशमा हटाइएका नौ जना कर्मचारीमध्ये दुई पटक गरेर चार जनालाई छानीछानी मौखिक आदेशमै जागिरमा फर्काएको र अरु पाँच जनालाई पक्षपात गरेको निवेदकहरुको भनाई छ ।
हटाइएका कर्मचारीहर बिगत ८ देखि १५ वर्षसम्म कार्यरत रहेका थिए । हटाइए पनि उनीहरु नियमित रुपमा कार्यालय गइरहेकोमा कार्यालय प्रमुख सापकोटाले गाली बेइज्जति गरेर जबर्जस्ती कार्यालयबाट निकालिदिएको उनीहरुको गुनासो छ ।
जागिरबाट हटाइएका एक जना कर्मचारीले अन्याय सहन नसकी आत्महत्या गर्नुको बिकल्प नभएको भनिरहेको समेत प्रजिअलाई दिइएको निवेदनमा उल्लेख छ ।
मनोमानी ढंगले जागिरबाट हटाउनु घोर अन्याय भएको हुँदा सम्मानपूर्वक पुनर्वहालीका लागि पहल गरिदिन प्रजिअलाई पीडितहरुले अनुरोध गरेका छन् । उनीहरुले जागिरमा पुनर्वहालीका लागि शान्तिपूर्ण आन्दोलन गर्ने बताएका छन् ।