झापा, ७ जेठ । बुद्धशान्ति–५ को पाँचपोखरी सामुदायिक बनमा ‘घुमन्ते गज’ नामको रैथाने जंगली हात्ती मरेको छ ।
आज विहान स्थानीबासीले जंगलभित्र मरेका हात्ती देखेपछि बन कर्मचारीहरुलाई खबर गरेका थिए ।
जिल्ला बन कार्यालय झापाले उक्त हात्ती लामो समयदेखि विरामी रहेको र प्रकृति संरक्षण कोषबाट डाक्टर ल्याएर उपचार समेत गरिएको जनाएको छ ।
अन्दाजी ५० देखि ५५ वर्षको उक्त हात्तीको दाह्रा छैन । बाहुनडाँगीको आरआरटी (बन्यजन्तु संरक्षणमा सक्रिय)का युवाहरुले समेत उक्त बिरामी हात्तीलाई बिगतमा बन्दाकोभी लगायतका आहार जंगलमै लगेर खुवाउने गरेको थियो ।
बाहुनडाँगीका बन्यजन्तु संरक्षण अभियन्ता शंकर लुइँटेलले उक्त रैथाने हात्तीको नाम ‘घुमन्ते गज’ राख्नु भएको थियो ।
हात्तीलाई कोशी टप्पु आरक्षबाट आएको प्राविधिक टोलीले आजै पोस्टमार्टम जाँच गरेर जंगलभित्र समाधिस्थ गर्ने योजना रहेको बन कार्यालयले जनाएको छ ।
(फोटो : शंकर लुइँटेल)