१९ जेठ २०८२, आइतवार

हल्दिबारीमा 'काठेपुल मुक्त' अभियान सफलता नजिक

८ जेठ २०८२, बुधवार
Image

झापा, ७ जेठ । राष्ट्रिय प्रजातन्त्र पार्टीको नेतृत्व रहेको हल्दिबारी गाउँपालिका काठेपुल मुक्त अभियान सफलताको नजिक पुगेको छ ।

पालिकाका अध्यक्ष रविन्द्र लिङ्देनले आफु नेतृत्वमा आए लगत्तै पालिकालाई काठेपुल मुक्त बनाउने बाचा गर्नु भएको थियो ।

काठ, बास र अस्थायी प्रकृतिका १५० वटा पुललाई विस्थापित गरेर पालिकाले पक्की पुल बनाउने योजना बनाएकोमा अब दुई वटा पुल मात्र बाँकी छन् ।

यसैबीच, बाँकी रहेका तीन वटा पुलमध्ये हल्दिबारी वडा नं. १ र ५ लाई जोड्ने भुतेनी खोलाको पक्की पुल आज एक विशेष समारोहबीच पूर्व उपप्रधान तथा ऊर्जामन्त्री एवम् रापप्राका अध्यक्ष राजेन्द्र लिङ्देनले उद्घाटन गर्नु भएको छ ।

उहाँले हल्दिबारीलाई काठेपुल मुक्त बनाउने अभियानमा नवनिर्मित पुल सफलताको नयाँ खुड्किलो भउको बताउनुभयो । 

वि.सं. २०७९ कार्तिक ७ गते निर्माण सम्झौता भएको सो पुलको निर्माण अवधि दुई वर्ष तोकिएको थियो । तर निर्धारित समयभन्दा पाँच महिना अघि नै पुल बनेको छ । पुलको निर्माण सारा सृष्टि निर्माण सेवा प्रालिले गरेको हो ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर वनका अनुसार रु चार करोड ९६ लाख ८५ हजार ९०० मा ठेक्का सम्झौता भए पनि यो पुल रु. दुई करोड ३० लाखमा निर्माण भएका छ ।

अब वडा नं. २ स्थित दुई वटा भुसुडी खोलाको पुल निर्माणाधीन रहेका छन् । उद्घाटन कार्यक्रम गाउँपालिका अध्यक्ष रविन्द्र लिङ्देनको अध्यक्षतामा भएको थियो ।