१९ जेठ २०८२, आइतवार

बाह्रदशीको मिनी माउन्टेनमा ‘मास हिस्टेरिया’को लक्षण

९ जेठ २०८२, बिहिवार
Image

झापा, ८ जेठ । बुधवार दिउँसो बाह्रदशी गाउँपालिकाको वडा नं. ६ स्थित मिनी माउन्टेन अंग्रेजी माध्यमिक विद्यालयका १७ जना विद्यार्थी विद्यालयको धाराको पानी पिए लगत्तै बिरामी भए ।

अपराह्न २ बजेतिर नृत्य कक्षापछि विद्यार्थीहरुले सार्वजनिक धाराको पानी पिएका थिए । त्यसपछि अचानक पेट दुख्ने समस्या आएपछि शिक्षकहरुले उनीहरुलाई उपचारका लागि नजिकैको आधारभूत स्वास्थ्य केन्द्र र त्यहाँ उपचार सम्भव नभएपछि विर्तामोडको पूर्णटुंग विर्तासिटी हस्पिटल पुर्याएको बाह्रदशी स्वास्थ्य शाखाका प्रमुख राम साहले बताउनुभयो ।

कक्षा ४ र ५मा पढ्ने विरामी भएका विद्यार्थीहरुमा ११ वर्षीया सुमित्रा किस्कु, १० वर्षीया रेवन बिक, नौ वर्षीया प्रनिसा अधिकारी, नौ वर्षीया खुस्बु बर्देवा, १० वर्षीया सुप्रिया सुन्दास, १० वर्षीया सेन्जे हाङ्मा शर्मा, १० वर्षीया मनिता गजुरेल, ११ वर्षीया बीना रिजाल, ११ वर्षीय आदित्य ढकाल, ११ वर्षीया अरविदा राई, ११ वर्षीय सुशान्त कार्की, ११ वर्षीया प्रनिसा कार्की, १० वर्षीया सृष्टि माबो, ११ वर्षीया ग्रिष्मा साह, आठ वर्षीया अनुसा भुजेल, नौ वर्षीया इसिका भुजेल र नौ वर्षीया वर्षा लिम्बु रहेका छन् ।

विरामी भई अस्पतालको आकस्मिक कक्षमा भर्ना गरिएका सबै विद्यार्थीहरु चार घण्टा उपचारपछि घर फर्किसकेको स्वास्थ्य शाखाका प्रमुख साहले जानकारी दिनुभयो । 

उपचारपछि सबै विद्यार्थीको अवस्था सामान्य बनेको जनाउँदै जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी खगेन्द्र बहादुर खड्काले घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताउनुभयो । 

विरामी विद्यार्थीहरु सबै वडा नं. ५ निवासी छन् । विरामी भएका १७ जनामध्ये १४ जना वालिका छन् । विद्यालयले विरामी भएका १७ जना विद्यार्थीलाई उपचारपछि घरमा पुर्याउँदै दुई दिन घरमै आराम गर्न विदा दिएको छ । 

मास हिस्टेरियाको लक्षण

विद्यालयका सञ्चालक खगेन्द्र सुबेदीले विद्यालयको धाराको पानीमा खराबी नरहेको दावी गर्नु भएको छ । उहाँले विद्यार्थीमा मास हिस्टेरिया देखा परेको बताउनुभयो ।

स्वास्थ्य शाखाका प्रमुख राम साहले चिकित्सकहरुसँग भएको कुराकानीलाई उद्धृत गर्दै उपचार र जाँचको क्रममा विद्यार्थीमा पानीका कारण स्वास्थ्यमा समस्या भएको नपाइएको जानकारी दिनुभयो ।

उहाँले पनि केही विद्यार्थीले पानी पिए लगत्तै भुँडी दुख्यो भनेपछि अरु विद्यार्थीले पनि लडीबुडी गर्दै भुँडी दुखेको बताएपछि अस्पताल लगिएको जानकारी पाएको बताउनुभयो ।

साहले विद्यालयको पानी र वातावरणको आज अध्ययन गरिने बताउनु भएको छ ।

मास हिस्टेरिया छात्राहरुको समूहमा रुने, काम्ने र कराउने बिरामी हो । यस घटनामा अधिकांश बिरामी छात्रा नै रहेको हुँदा मास हिस्टेरियाको लक्षण देखिएको हुनसक्छ ।