झापा, १७ जेठ । वरिष्ठ संगीतकार रञ्जित गजमेर र शिक्षासेवी जयनारायण ढुंगानालाई यस वर्षको ‘बिसे नगर्ची राष्ट्रिय व्यक्तित्व सम्मान’ प्रदान गरिने भएको छ ।
झापाको गोर्खा फाउन्डेसन नेपालले संगीत र शिक्षाको क्षेत्रमा विशिष्ट योगदान पुर्याए वापत गजमेर र ढुंगानालाई उक्त सम्मान गर्ने निर्णय भएको फाउन्डेसनका अध्यक्ष बीरु दर्नालले बताउनुभयो । यही जेठ ३१ गते बिर्तामोडमा उक्त सम्मान प्रदान गरिने भएको छ ।
गोरखाका राजा पृथ्वीनारायण शाहलाई नेपालको एकीकरण अभियानमा आर्थिक गर्जो टार्न बिसे नगर्चीले ऐतिहासिक सल्लाह दिएको सम्मानमा फाउन्डेसनले गत वर्षदेखि राष्ट्रिय व्यक्तित्व सम्मान प्रदान गर्दै आएको छ ।
गत वर्ष वरिष्ठ चलचित्र निर्देशक तुलसी घिमिरे, चलचित्र नायक राजेश हमाल, महिला प्रमुख जिल्ला अधिकारी सीता परियार, सहकारी अभियन्ता महेन्द्र गिरी र अन्टार्कटिका पुग्ने पहिलो नेपाली भुवनसिंह विश्वकर्मालाई उक्त सम्मान दिइएको फाउन्डेसनका उपाध्यक्ष एवम् कार्यक्रम संयोजक रोशन नेपालीले बताउनुभयो । सम्मानित व्यक्तित्वलाई सम्मान पत्रका साथै नगद रु. ५१ हजार प्रदान गरिएको थियो ।
यसवर्ष सम्मानित हुने संगीतकार गजमेरले बाँसुरी, कुसुमे रुमाल, लाहुरे, चिनो, दर्पण छायाँलगायत दर्जनौं नेपाली चलचित्रमा सुमधुर संगीत भरेर सांगीतिक क्षेत्रमा विशिष्ट योगदान पुर्याउनु भएको छ । भारतको दार्जीलिङका गजमेरले भारतीय चलचित्रहरुमा समेत संगीत भर्नु भएको छ ।
अर्का सम्मानित व्यक्तित्व ढुंगाना झापाको विर्तामोडमा रहेको नर्सरीदेखि स्नातकोत्तरसम्म पठनपाठन हुने निजी क्षेत्रको कनकाई एजुकेसन फाउन्डेसनका संस्थापक हुनुहुन्छ । उहाँले पछिल्लो समय फलफूलका विरुवा रोपेर पर्यावरण जोगाउने अभियानको नेतृत्व गरिरहनु भएको छ ।