२० जेठ २०८२, सोमवार

सात वर्ष लगाएर ‘कोइलाखाद’ लेखेको हुँ : श्याम सिंघक

१८ जेठ २०८२, शनिवार
Image

झापा, १७ जेठ । उपन्यासकार श्याम सिंघकले नयाँ पुस्तकमा नयाँ स्वाद दिने हुटहुटीले ‘कोइलाखाद’ उपन्यास जन्मिएको बताउनु भएको छ ।

रिडर्स झापाले आज इटाभट्टास्थित रिडर्सको हलमा आयोजना गरेको संवाद कार्यक्रममा बोल्दै सिंघकले त्यस्तो बताउनु भएको हो । यो उपन्यास नेपालको हरेक गाउँको नेपालीले मुगलान जाँदा भोग्नु परेको पीडा र गर्नु परेको संघर्षको कथा भउको उहाँले बताउनुभयो । 

“धेरैजसो लेखकका नयाँ कृतिमा पुरानै स्वाद भरिएको गुनासो सुन्ने गरेको छु,” उहाँले भन्नुभयो–“मैलै त्यस्तो नहोस् भनेर कोइलाखादमा धेरै अध्ययन र मिहेनत गरेको छु । पाठकहरुले पक्कै नयाँ स्वाद पाउनु हुनेछ ।”

काठमाडौंमा निजी विद्यालय सञ्चालन गरिरहनु भएको उपन्यासकार सिंघक पेशेवर साहित्यकार नभएको पत्रकार एवम् कार्यक्रमका सहजकर्ता पर्वत पोर्तेलले बताउनुभयो । उहाँले भन्नुभयो–“उहाँ (सिंघक) थोरै लेख्नु हुन्छ, राम्रो लेख्नुहुन्छ । यसपटक मुगलानमा नेपालीहरुले भोगिरहेको दुःखको मार्मिक कथा ‘कोइलाखाद’मा लिएर आउनु भएको छ ।”

सिंघकका यसअघि दुई उपन्यास प्रकाशित छन्, एउटा रेमिटल्यान्ड र अर्को ललिता । परिवर्तन थिएटरले रेमिटल्यान्डको कथालाई संवादमा उतारेर काँकरभिट्टामा नाटक समेत मञ्चन गरेको थियो ।

आजको कार्यक्रममा उपन्यासकार सिंघकले रिडर्सका सदस्य दामोदर ढुंगेलले सोध्नु भएका कृतिसँग सम्बन्धित विभिन्न प्रश्नहरुको जवाफ दिनु भएको थियो भने सहभागीहरुबाट आएका जिज्ञासाको समेत उत्तर दिनु भएको थियो ।

‘कोइलाखाद’ उपन्यासमा कोइलाखानीमा काम गर्ने श्रमिकहरूको कठोर संघर्ष, तिनीहरूको जीवनका भोगाइहरू, प्रेम अनि वियोग, आँशु र हाँसोका क्षणहरू अत्यन्तै सजीव र मार्मिक ढंगले चित्रण गरिएको ढुंगेलले बताउनु भएको छ ।

लेखक तथा रिडर्स झापाका सदस्य निरोज कट्टेलले ‘कोइलाखाद’ उपन्यासमाथि टिप्पणी प्रस्तुत गर्नु भएको थियो । उहाँले जीवन जिउने स्रोतबाट विमुख भएपछि कोइलाखानीमा मजदूरी गर्न बाध्य भएका नेपालीहरुको संघर्ष, प्रेम र श्रम संस्कृतिलाई उजागर गर्न कृति सफल रहेको बताउनुभयो ।

भारतको मेघालय पुगेर कोइलाखानीमा श्रम गर्नेहरुको ७ वर्ष अध्ययन गरेपछि ‘कोइलाखाद’ उपन्यास तयार भएको लेखकको भनाई छ । नेपालबाट कोइलाखानी पुगेको लोचनबहादुर लिम्बु र खासी जातिकी युवती रुथ उपन्यासको मुख्य पात्र हुन् ।