४ चैत २०८२, बुधवार

बाहुनडाँगीमा हात्ती

प्रकृतिसँग द्वन्द्व घटाउने हाम्रा अनुभवहरु

४ चैत २०८२, बुधवार
Image

बाहुनडाँगीको कथा केवल हात्तीको कथा मात्र होइन । यो किसानको आँशु, समाजको चेतना र प्रकृतिसँग मिलेर बाँच्ने दीर्घ यात्राको कथा हो । यहाँका खेतहरूमा कहिलेकाहीँ बालीभन्दा पहिले डर उम्रिन्छ । रातको सन्नाटा फुट्दै गर्दा टाढाबाट आउने हात्तीको आवाज सुन्नासाथ घरभित्रका मानिसहरूको मुटु चस्किन्छ आङ जिरिङ्ग हुन्छ । त्यो डर केवल बाली बिग्रने डर होइन, घर परिवारको सुरक्षाको चिन्ता पनि हो ।

तर यही पीडाको बीचबाट एउटा सत्य हामीले वर्षौको अनुभवबाट सिकेका छौँ, मानिसको जीवनभन्दा ठूलो केही हुँदैन ।

हात्तीले खेतमा बिगार गर्यो भनेर हामी आक्रोशित हुन्छौँ । त्यो स्वाभाविक हो । तर हाम्रो आफ्नै अनुभवले प्रमाणित गरेको कुरा के हो भने, हात्ती खेतमा आएको बेला खेततिर नजानु, घरबाट बाहिर ननिस्किनु नै सबैभन्दा सुरक्षित उपाय हो । यो सरल लाग्ने कुरा व्यवहारमा लागू गर्न नसक्दा धेरै जोखिम निम्तिन्छ ।

हामीले बारम्बार देखेका छौँ—हात्ती आयो भन्ने खबर फैलिनासाथ गाउँमा हुल जम्मा हुन्छ । कोही हात्ती खेद्ने नाममा, कोही उत्सुकताले, कोही रमाइलो हेर्न । तर त्यो भीडभाडको बीचमा जोखिम झन् बढ्छ । विशेष गरी महिला दिदीबहिनीहरू र बालबालिकाहरू त्यहाँ पुगिरहेका हुन्छन् । यो दृश्यले गहिरो प्रश्न उठाउँछ—यदि यो साँच्चै जोखिमपूर्ण अवस्था हो भने त्यहाँ बालबालिकाहरू किन पुगिरहेका छन् ? उनीहरू किन भीडको हिस्सा बनिरहेका छन् ?

धेरै पटक हात्ती खेद्ने नाम दिइए पनि त्यो दृश्य वास्तवमा मनोरञ्जनको भीड जस्तो देखिन्छ । कोही ढुङ्गा हान्छन्, कोही चिच्याउँछन्, कोही मोबाइलमा भिडियो खिच्छन् । तर त्यो शान्त प्राणीलाई अझ उत्तेजित बनाउने काम हो । त्यहाँ न उमेरको भेद हुन्छ, न जातको, न धर्मको, न पेशाको, न राजनीतिक दलको । सबै एउटै भीडमा मिसिन्छन् । तर जब दुर्घटना हुन्छ, त्यसको पीडा परिवारले भोग्नुपर्छ ।

पछिल्लो समय यस्तै अवस्थाबाट बालबालिकाहरू दुर्घटनामा परेको घटनाले हामीलाई अझ गम्भीर बनाएको छ । रहर र रोमाञ्चका लागि होइन, जीवनको सुरक्षाका लागि हामीले यस्तो व्यवहार परिवर्तन गर्नैपर्छ ।

हामीले हात्ती उपद्रो न्यूनीकरणका लागि धेरै प्रयासहरू गरिरहेका छौँ । सीमामा फेन्सिङ तारको मर्मत, बाटो मर्मत, तटबन्धन निर्माण, मौसमी फेन्सिङ, र्यापिड रेस्पोन्स टिमको परिचालन, बीमा सेवा, सचेतना शिक्षा, राहतमा सहजीकरण, डिभिजन वन कार्यालयको सुरक्षा गस्ती यी सबै काम निरन्तर भइरहेका छन् ।

साथै आयआर्जनसँग जोडिएका उपायहरू पनि खोजी भइरहेका छन्—उत्सवहरू, भ्रमण कार्यक्रमहरू, ग्रामीण पर्यटन, वैकल्पिक खेती र नयाँ सम्भावनाहरूको खोजी । यी सबै प्रयासहरू एउटै उद्देश्यका लागि हुन्—मानिस र प्रकृतिको द्वन्द्व घटाएर सह–अस्तित्वको बाटो खोल्ने ।

तर यहाँ एउटा गहिरो मनोवैज्ञानिक प्रश्न पनि उठ्छ । हामीले आफ्नो घरका बालबालिकालाई कहिलेकाहीँ भन्छौँ—त्यहाँ नजाऊ, खतरा छ । तर धेरैपटक उनीहरूले त्यो कुरा मान्दैनन् । ठूलोले भनेको सकारात्मक कुरा सानाले कहिलेकाहीँ बेवास्ता गर्छ । यस्तो अवस्थामा हामीले आफैंलाई सोध्नुपर्ने हुन्छ—यदि आफ्नै बालबालिकाले हाम्रो चेतावनी कहिलेकाहीँ मान्दैनन् भने हामीले पशुले हाम्रो आदेश कसरी मान्नुपर्छ भन्ने अपेक्षा किन राख्छौँ ?

प्रकृतिसँगको सम्बन्ध आदेशको होइन, समझदारीको हो । हामीले पहिले आफूलाई अनुशासित बनाउनुपर्छ, तब मात्र सह–अस्तित्व सम्भव हुन्छ । हामीलाई राम्ररी थाहा छ—हात्तीले धेरै दुःख दिएको छ । किसानले बाली गुमाएका छन्, रातभर जाग्राम बस्नुपरेको छ, थुप्रै पीडा भोगेका छन् । ती सबै गुनासाहरू वास्तविक छन् । तर समाधान खोज्ने क्रममा हामीले धैर्य र विवेक गुमाउनु हुँदैन ।


यस सन्दर्भमा संसारका अन्य उदाहरणहरूबाट पनि सिक्न सकिन्छ । कठोर हिमाली जीवनका बीच बस्ने शेर्पा समुदायलाई सम्झन सकिन्छ । त्यहाँ अभाव थियो, जोखिम थियो, मृत्युका कथा पनि थिए । तर उनीहरूले त्यो ठाउँ छोडेनन् । बरु त्यही कठिनाइलाई अवसरमा बदल्ने साहस गरे ।

जब तेन्जिङ नोर्गेले एडमन्ड हिलारीसँगै सगरमाथाको चुचुरोमा पाइला टेके, त्यो केवल पर्वतारोहणको सफलता मात्र थिएन् त्यो कठिनाइलाई अवसरमा बदल्ने मानवीय साहसको प्रतीक थियो ।

त्यसपछि शेर्पा समुदायको जीवनस्तर, चेतना, शिक्षा र सामाजिक विकासमा ठूलो परिवर्तन आयो । आज त्यही समुदायका मानिसहरू राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा परिचित छन् । हालै प्रतिनिधि सभामा विजयी हुनुभएको मिग्मा शेर्पा जस्ता व्यक्तित्वहरूले त्यो समुदायको आत्मविश्वास र उचाइ अझ बढाएका छन् । यो उदाहरणले हामीलाई सिकाउँछ—अप्ठ्यारोबाट भागेर होइन, त्यसलाई बुझेर व्यवस्थापन गर्दा नै भविष्य निर्माण हुन्छ ।

बाहुनडाँगीको यथार्थ फरक भए पनि सन्देश उस्तै छ । यहाँको चुनौती हात्ती हो, तर हाम्रो लक्ष्य मानिसको जीवन सुरक्षित राख्दै प्रकृतिसँग सह–अस्तित्व कायम गर्नु हो । त्यसका लागि सबैभन्दा पहिले हामीले मानिसलाई नै पहिलो स्थानमा राख्नुपर्छ ।

हात्ती आयो भने खेतमा नजानु, घरबाट बाहिर ननिस्किनु—यो सानो सल्लाह जस्तो लाग्न सक्छ, तर यही व्यवहारले धेरै जीवन बचाउन सक्छ । चेतनाको सुरुवात यहीबाट हुन्छ ।

हामीलाई थाहा छ परिवर्तन तुरुन्तै देखिँदैन । कतिपय प्रयासहरू अहिले देखिँदैनन्, तर समयले त्यसको परिणाम देखाउँछ । आज रोपिएको चेतनाको बीउ भोलि समाजको संस्कार बन्छ ।

आज जनताले हामीलाई जनप्रतिनिधिको जिम्मेवारी दिएका छन् । यो केवल पद होइन, समाजले दिएको विश्वास हो । भोलि पदमा नहुँदा पनि हाम्रो जीवन यही समाजसँग जोडिएको रहनेछ । सेवा, संरक्षण र सह–अस्तित्वको यो अभियान निरन्तर रहनेछ ।

त्यसैले बाहुनडाँगीका सबै आमाबुबा, दिदीबहिनी, युवा र बालबालिकामा हार्दिक अपिल छ—हामी सबै मिलेर मानवीय क्षति हुन नदिने संकल्प गरौँ । हात्ती नियन्त्रणका प्रयासहरूमा सबैको साझा हात अगाडि बढाऔँ । संयम, चेतना र सहकार्यको बाटो अपनाऔँ ।

मानिस सुरक्षित रहोस्, प्रकृति पनि बाँचोस् र बाहुनडाँगी सह–अस्तित्वको जीवित उदाहरण बनोस् ।


लेखकको बारेमा
Image
अर्जुन कार्की 'सीमा'

(ग्रामीण पर्यटन तथा प्रकृति संरक्षण अभियन्ता लेखक अर्जुन कार्की मेचीनगर नगरपालिका वडा नं. ४ का वडाध्यक्ष हुनुहुन्छ ।)