११ असोज २०८३, आइतवार

बाहुनडाँगीमा फेरि हुल बाँधेर आउन थाले हात्ती

२८ जेठ २०८२, मङ्गलवार
Image

झापा, २६ जेठ । भारतबाट हुल बाँधेर आउने जंगली हात्तीबाट बाहुनडाँगीबासी फेरि आजित बन्न थालेका छन् ।

साँझ नपर्दै मेची नदी पार गरेर आउने ५० देखि ६० वटा हात्तीले मेचीनगर वडा नं. ४, २ र ३ मा किसानले लगाएको अन्नबाली नष्ट गर्दै आएपछि उनीहरु आजित बनेका हुन् । 

विहान उज्यालो नहुँदै मेची नदी किनारमा पुग्ने स्थानीय शंकर लुईटेलले दैनिक बाहुनडाँगी आउने र भारततर्फ फर्कने हात्तीको हुलको तस्वीर, भिडियो खिचेर सार्वजनिक सञ्जालमा पोस्ट गदै आउनुभएको छ । 

किसानले बारीमा लगाएको मकै, सुपारी, केरालगायतका खाद्यान्न बाली खाएर नष्ट गर्दै आएको उहाँले बताउनुभयो । “बर्षौं लाएर हात्तीले नखाने नगदे बाली सुपारीको बोट हुर्काएँ,” उहाँले भन्नुभयो, “फल्न सुरु भएको थियो, सबै भाँचेर नष्ट गरिदियो ।”

उहाँले विश्व बैंकको सहयोगमा १० बर्ष अघि मेची नदी किनारमा गरिएको सोलार फेन्सिङ विग्रिएपछि हात्ती फेरि बाहुनडाँगीमा हुल बाँधेर आउन सुरु गरेको बताउनुभयो । सोलार फेन्सिङ बिग्रिएको र मर्मतमा सम्बन्धित निकायले चासो नदिएको उहाँको गुनासो छ । 

रेखदेखको जिम्मेवारी पाएको मानव–हात्ती द्वन्द्व व्यवस्थापन तथा बातावरण संरक्षण मञ्चका अध्यक्ष निरज घिमिरेले हाल सोलार फेन्सिङको मर्मत भइरहेको बताउनुभयो । उहाँले डिभिजन वन कार्यालय झापाबाट तारबार वरपरको झारपात फाड्नका लागि चालु आर्थिक बर्ष २०८१/८२ मा रु. आठ लाख आएको र मेचीनगर नगरपालिकाद्वारा कर्मचारीको पारिश्रमिकका लागि रु. सात लाख बजेट प्राप्त भएको बताउनुभयो । 

सोलार फेन्सिङको हेरचाहका लागि मासिक रु. पाँच हजारका दरले तलब दिएर १० जना र रु. १२ हजारका दरले तलब दिएर दुई जना प्राविधिक राखिएको बताउनुभयो । पछिल्लो समय हात्तीको उपद्रो बढ्यो भनेर स्थानीयवासीले समाधानको मागसहित मेचीनगर नगरपालिकामा ज्ञापन पत्र समेत बुझाएका छन् । 

डिभिजन वन कार्यालय झापाका प्रमुख भरतबाबु श्रेष्ठले सोलार फेन्सिङ प्राकृतिक र हात्तीका कारण नभई मान्छेले भत्काउने गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “यो चोरी तस्करी गर्ने नाका पनि हो भन्छन् । दैनिक मानिसले नै इन्टेन्सली भत्काउँछन् भने कसरी बनाएर पनि सकिन्छ होला र ?” उहाँले चालु आर्थिक बर्षका लागि कार्यालयबाट सम्झौता बमोजिम नै रकम निकासा गरिएको बताउनुभयो । 

विगत १० बर्ष यता बाहुनडाँगीमा यही सोलार फेन्सिङका कारण जंगली हात्ती आउने क्रम घटेको थियो ।

केही दिन अघि बाहुनडाँगीका हात्तीपीडितहरुले मेचीनगर नगरपालिकामा ज्ञापन पत्र बुझाउँदै हात्तीबाट भइरहेको क्षतिबारेमा स्थानीय सरकार गम्भीर नभएको बताएका थिए । उनीहरुले हात्तीलाई बाहुनडाँगीमा प्रवेश गर्न नदिन आवश्यक उपाय खोज्न आग्रह गरेका थिए ।