१७ असार २०८२, मङ्गलवार

हाम्रो मेचीनगर

मेचीनगरमा श्रमिकको ‘स्वास्थ्य बिमा’का लागि रु. २५ लाख बजेट

१७ असार २०८२, मङ्गलवार
Image

झापा, १७ असार । मेचीनगर नगरपालिकाले आव २०८२÷८३ को बजेटमा श्रमिकको स्वास्थ्य बिमाका लागि इतिहासमै पहिलोपल्ट सबैभन्दा धेरै रकम बिनियोजन गरेको छ ।

यही असार १२ गते सम्पन्न नगरसभाबाट पारित वार्षिक बजेटमा उल्लेख भए अनुसार चिया बगान तथा अन्य क्षेत्रका श्रमिकका लागि ‘बीमा कार्यक्रम’ शीर्षकमा रु. २५ लाख रकम छुट्याइएको छ ।

नगरप्रमुख गोपाल बुढाथोकीले बगान तथा विभिन्न क्षेत्रमा दिनभरि मजदूरी गरेर जीविकोपार्जन गर्दै आएका परिवारको स्वास्थ्य बीमामा उक्त रकम खर्च गरिने बताउनु भएको छ ।

नेपाल सरकारले एउटा परिवारको स्वास्थ्य बिमाका लागि न्यूनतम् रु. तीन हजार पाँच सय रकम लिने र त्यस वापत रु. एक लाखसम्मको स्वास्थ्योपचार गरिदिने व्यवस्था गरेको छ ।

मेचीनगरले बिनियोजन गरेको यस बजेटबाट ७०० भन्दा बढी श्रमिक परिवार लाभान्वित हुने भएका छन् ।

मेचीनगरमा नेपाल चिया विकास निगमको टोकला चिया बगान लगायत दर्जनौं ठूला र साना चिया बगान रहेका छन् । ती बाहेक यातायात, कृषि, ढुवानी लगायतका क्षेत्रमा ठूलो संख्यामा श्रमिकहरु कार्यरत छन् ।

यसअघिका नगरप्रमुख बिमल आचार्यले पनि चिया श्रमिकको हितमा कार्यक्रम ल्याउने चुनावी बाचा गर्नु भएको थियो । उहाँको कार्यकालमा केही श्रमिकको आवासमा विद्युत सुविधा र स्वास्थ्य बिमा पुर्याउने कार्यको थालनी मात्र गरिएको थियो ।