१८ असार २०८२, बुधवार

तिम्ल्याहाले घरमै पाए रातो कार्ड र नागरिकता

१८ असार २०८२, बुधवार
Image

झापा, १८ असार । विर्तामोड नगरपालिका–५ मा बहुअपांगता भएका तिम्ल्याहा दिदीबहिनीले घरमै नागरिकता र अपांगताको प्रमाणपत्र प्राप्त गरेका छन् ।

नगरपालिकाका उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलाले उनीहरुलाई घरमै पुगेर अपांगता सम्बन्धी ‘क’ वर्गको रातो कार्ड प्रदान गरिएको बताउनुभयो ।

तिम्ल्याहा दिदीबहिनीहरु १७ वर्षीया आकृति लिम्बु, इक्सा लिम्बु र इन्तुसा लिम्बु रहेका छन् । उनीहरुमध्ये इन्तुसा ओछ्यानबाट आफै उठ्न समेत नसक्ने अवस्थामा रहेकी छन् ।

आमा मनकुमारी शेर्माले आफ्नो सन्तानको रुपमा चार छोरी रहेको र बहुअपांगता भएका तिम्ल्याहाको घरमा आफैले स्याहार सुसार गरिरहेको बताउनुभयो । 

“एकै पटक तीन सन्तान जन्मिदा खुशीको सीमा थिएन,” आमा मनकुमारी भन्नुहुन्छ, “तर के गर्नु जस्तो आइपरे पनि सहनु पर्यो नि, दुई जना उठ्न बस्न सक्छन्, एउटी त सधैंभरि ओछ्यानमै हुन्छिन् ।” 

रातो कार्ड कार्ड प्राप्त गरेसँगै उनीहरुले सरकारले प्रदान गर्दै आएको ‘क’ वर्गको अपाङ्गता भत्ता समेत पाउने नगरउपप्रमुख संग्रौलाले बताउनुभयो । कार्ड प्रदान गर्न घरमै पुग्नु भएका नगरउपप्रमुख संग्रौलाले उनीहरुको आवश्यक औषधि उपचारमा समेत सहयोग गर्ने बताउनुभयो । 

नगरपालिकाकै पहलमा जिल्ला प्रशासन कार्यालय झापाले गत बैशाख २२ गते तिम्ल्याहा दिदी बहिनीलाई घरमै पुगेर नेपाली नागरिकताको प्रमाणपत्र वितरण गरेको थियो ।