झापा, २० असार । धुलाबारीमा रहेको मेचीनगरको एक मात्र सरकारी अस्पतालको नगरका प्रमुख गोपाल बुढाथोकीले विहीवार अनुगमन गर्नु भएको छ ।
नगरपालिकाले धुलाबारीस्थित प्राथमिक स्वास्थ्य केन्द्रलाई १५ शैयाको मेचीनगर नगर अस्पतालमा स्तरोन्नति गरेपछि स्वास्थ्य उपचारका सेवा तथा सुविधाहरु थपिएका छन् ।
नगरप्रमुख बुढाथोकीले अस्पतालको अनुगमनका क्रममा विरामीहरुलाई गुनासोरहित सेवा प्रवाह गर्न कार्यरत डाक्टर, नर्स र कर्मचारीहरुलाई निर्देशन दिनु भएको थियो।
केही समय अघि सेवाग्राहीले डाक्टरहरुको व्यवहारप्रति सार्वजनिक रुपमै गुनासो गरेका थिए । गुनासो आएपछि नगरप्रमुख बुढाथोकीले पहिलोपल्ट अस्पतालको अनुगमन गर्नु भएको हो ।
यो अस्पताल मेचीनगरको स्वास्थ्य बिमामार्फत उपचार गर्ने एक मात्र प्रथम बिन्दु हो । बुढाथोकीले स्वास्थ्य बिमाको उपचार र औषधि वितरण बारेमा समेत चासो व्यक्त गर्नु भएको थियो ।
नगरप्रमुख बुढाथोकीसँगै मेचीनगर स्वास्थ्य शाखाकी प्रमुख सविता सापकोटा समेत अनुगमन टोलीमा हुनुहुन्थ्यो ।
अस्पतालले हालै नयाँ सामुदायिक बहुउदेश्यीय भवन सञ्चालनमा ल्याएको छ । जहाँ १५ शैया राखिएको छ । अस्पतालले ल्याब, भिडियो एक्सरे, ईसीजी लगायतको सेवा प्रदान गरिरहेको छ ।
दैनिक विहान साढे ६ वजेदेखि ल्याबको सेवा उपलब्ध हुने अस्पतालले जनाएको छ । अस्पतालमा विशेषज्ञ र एमवीवीएस डाक्टरहरुबाट विरामीको जाँच हुने गरेको छ ।
प्रत्येक मंगलबार स्त्री रोग तथा प्रसुती सेवा, विहीबार बालरोग तथा नाक, कान र घाँटीको सेवा, शुक्रबार जनरल फिजिसियन सेवा र दैनिक विहान ६ वजेदेखि ओपीडी सेवा सञ्चालनमा रहेको छ ।
ईसीजी, युएसजी सेवा, २४ सै घण्टा आकस्मिक सेवा, बीमा तथा अन्य निःशुल्क सेवाहरु अस्पतालले प्रदान गर्दै आएको छ । अस्पतालले दैनिक करिव ५०० जना विरामीलाई उपचार सेवा दिइरहेको स्वास्थ्य शाखाकी प्रमुख सापकोटाले बताउनुभयो ।
अस्पतालमा विरामीको चाप बढेको कारण दुई जना डाक्टरको थप नियुक्तिका लागि नगरपालिकाले हालै विज्ञापन समेत प्रकाशित गरेको थियो ।