झापा, २२ असार । पत्रकार अम्बिका भण्डारी ‘नारी सञ्चार साधना पत्रकारिता पुरस्कार’बाट आज सम्मानित हुनु भएको छ ।
नारी सञ्चार गृह झापाले स्थापना गरेको उक्त पुरस्कारको नगद राशी रु. एक लाख एक हजार रहेको छ । पत्रकारिताको माध्यमबाट समाजमा पुर्याएको योगदानको कदरस्वरुप पत्रकार भण्डारीलाई सम्मानित गरिएको हो ।
विर्तामोडमा कार्यक्रमबीच उक्त पुरस्कार प्रदान गरिएको छ । विर्तामोडकी नगरप्रमुख एवम् प्रमुख अतिथि पवित्रा महतरा प्रसाईले भण्डारीलाई पुरस्कार प्रदान गर्नु भयो ।
राष्ट्रिय समाचार समितिकी विशेष समाचारदाता र लोकतन्त्र पोस्ट अनलाइनकी सम्पादक भण्डारी नेपाल पत्रकार महासंघ कोशी प्रदेश समितिकी उपाध्यक्ष र प्रेस चौतारी नेपालकी पूर्व केन्द्रीय सदस्य हुनुहुन्छ ।
यसैगरी, नारी सञ्चार गृह झापाले नारी सञ्चार युवा पत्रकारिता पुरस्कारबाट पत्रकार चिरञ्जीवी घिमिरेलाई प्रदान गरेको छ ।
नगद रु. २५ हजारको उक्त पुरस्कार प्रमुख अतिथि प्रसाईले नै प्रदान गर्नु भएको थियो । पुरस्कृत घिमिरे नयाँ पत्रिका दैनिकको झापा समाचारदाता हुनुहुन्छ ।
नारी सञ्चार गृह झापाकी अध्यक्ष रोदन रेजिनाको अध्यक्षतामा भएको सम्मान कार्यक्रममा प्रमुख अतिथि प्रसाई र नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरीले मन्तब्य व्यक्त गर्नु भएको थियो ।
सो अवसरमा पुरस्कृत प्रतिभाको परिचय नारी सञ्चार गृहकी पूर्व अध्यक्ष भीमा शिवाकोटीले र पुरस्कृत हुनेहरुको घोषणा पूर्व अध्यक्ष सावित्रा दाहालले गर्नु भएको थियो । संस्थाकी उपाध्यक्ष जोसना श्रेष्ठले स्वागत मन्तब्य र सचिव मायामितु न्यौपानेले उद्घोषण गर्नु भएको थियो । पुरस्कृत प्रतिभाको तर्फबाट पत्रकार अम्बिका भण्डारीले मन्तब्य ब्यक्त गर्नु भएको थियो ।
कार्यक्रममा नारी सञ्चार गृह झापाको पद हस्तान्तरण समेत भएको थियो । निवत्र्तमान कार्य समितिकी अध्यक्ष रेजिना रोदनले नयाँ कार्य समितिकी अध्यक्ष स्वस्तिका आचार्यलाई माइन्यूट दिएर पद हस्तान्तरण गर्नु भएको थियो ।
उक्त अवसरमा नेपाल पत्रकार महासंघ झापाका पूर्व अध्यक्षहरु केशव आचार्य, मोहन काजी र गणेश पोखरेलको समेत उपस्थिति रहेको थियो । सोही अवसरमा नारी सञ्चार गृहको अक्षयकोषमा रकम प्रदान गर्नु हुने दाताहरुलाई सम्मानित गरिएको थियो ।