झापा, २७ असार । नारी सञ्चार गृह झापाले पत्रकार महिलाहरुलाई पत्रकारितामा पेशामा प्रोत्साहित गर्ने उद्देश्यले स्थापना गरेको अक्षय कोषमा रु. ५१ लाख संकलन भएको छ ।
संस्थाले उक्त कोषको व्याजबाट रु. एक लाख नगदराशीको नारी सञ्चार साधना पत्रकारिता पुरस्कार र रु. २५ हजार नगदराशीको नारी सञ्चार युवा प्रोत्साहन पत्रकारिता पुरस्कार प्रदान गर्दै आएको छ ।
वि.सं. २०६८ मा पत्रकारितामा महिलालाई आकर्षित गर्ने, संगठित गरेर तालिम प्रदान गर्ने र पेशामा टिकाइरहन प्रोत्साहित गर्ने लक्ष्य राखेर सावित्रा दाहालको अध्यक्षतामा नारी सञ्चार गृहको स्थापना भएको थियो । संस्थाले वि.सं. २०७५ मा अक्षय कोषका लागि रकम जुटाउन सुरु गरेको थियो ।
“पूर्वअध्यक्ष अम्बिका भण्डारीले रु. १० हजार जम्मा गरेर अक्षयकोषको थालनी गर्नु भएको थियो,” संस्थाकी पूर्व अध्यक्ष भीमा शिवाकोटी भन्नुहुन्छ–“उहाँको कार्यकालमा देउसी भैली खेलेर र पालिकाहरुबाट सहयोग जुटाएर अक्षयकोषमा रु. २५ लाख पुर्याउने लक्ष्य राखिएको थियो । मेरो कार्यकालमा कोष वृद्धि गरेर रु. ३४ लाख पुर्याएँ ।”
निवत्र्तमान अध्यक्ष रेजिना गौतमको कार्यकालमा अक्षयकोष वृद्धि गरेर रु. ५१ लाख पुर्याइएको हो । दाताहरुले कोषमा सहयोग गर्ने क्रम जारी रहेको हुँदा कोषलाई रु. एक करोडसम्म पुर्याउने संस्थाको नयाँ लक्ष्य रहेको गौतमले बताउनुभयो ।
महिला पत्रकारहरुले स्थापना गरेको यो मोफसलमै सबैभन्दा ठूलो राशीको अक्षयकोष र पुरस्कार हो । संस्थाले वर्षेनी महिला पत्रकारको क्षमता अभिवृद्धिका लागि पत्रकारिता सम्बन्धी विभिन्न तालिमहरु सञ्चालन गर्दै आएको अध्यक्ष स्वस्तिका आचार्य बताउनुहुन्छ ।
नारी सञ्चार गृहले पत्रकार महिलाहरुको हितका लागि रचनात्मक कार्यहरु गर्दै आएको कारण जिल्लाका विभिन्न सामाजिक संघ संस्था र पालिकाहरुले अक्षयकोष वृद्धिका लागि सहयोग पुर्याउँदै आएका छन् ।
नेपालको पहिलो सम्पादक महिला साधना प्रधानको स्मृतिमा संस्थाले महिला पत्रकारहरुलाई प्रदान गर्नेगरी नारी सञ्चार साधना पत्रकारिता पुरस्कार स्थापना गरेको हो । हालसम्म सावित्रा दाहाल र अम्बिका भण्डारी गरी दुई जना पत्रकार उक्त पुरस्कारबाट सम्मानित हुनुभएको छ । युवा प्रोत्साहन पुरस्कारबाट शुष्मा राजबंशी र चिरञ्जीवी घिमिरे पुरस्कृत हुुनु भएको छ ।