झापा, ३० असार । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले देशमा विकास निर्माणका धेरै कार्य भए तापनि ‘केही भएको छैन’ भन्ने भाष्य निर्माण गर्न खोजिएकोमा आपत्ति जनाउनु भएको छ ।
बुद्धशान्ति गाउँपालिका–४ मा आज भूमिहीन दलित, सुकुम्वासी र अव्यवस्थित बसोवासीलाई जग्गाको धनीपूर्जा वितरण गर्न आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले मुलुकमा भइरहेको विकासलाई नदेखे जस्तो गर्दै ‘केही भएको छैन’ भन्नु भ्रम भएको बताउनुभयो ।
“गौंडा गौंडामा कालोपत्रे सडक बनेको छ, यही पालिकामा रु. १८ करोडभन्दा बढीका खानेपानीका योजनाहरु परेका छन्,” उहाँले भन्नुभयो, “नेपालकै तेस्रो लामो झोलुङ्गे पुल यही बुद्धशान्तिमा छ, अनि अझै पनि विकास भएन भन्ने ?”
उहाँले जताततै सडक, पुल, खानेपानी, विद्युत विस्तार र अस्पतालको सुविधालगायतका विकासका धेरै काम भएको चर्चा गर्नुभयो । उहाँले नागरिकलाई विकाससँगै सुशासन पनि चाहिएको बताउनुभयो ।
महामन्त्री शर्माले महंगो कर लगाएर धनीपुर्जा वितरण गर्ने काम विगतमा आफूले रोकेको बताउनुभयो । उहाँले आफ्नो आग्रहलाई स्वीकारेर सरकारले जग्गाको राजस्व आधा घटाएको उल्लेख गर्नुभयो ।
आज बुद्धशान्ति गाउँपालिकाको वडा नं. ४ का १९५ जना भूमिहीनहरुलाई जग्गाको धनीपूर्जा वितरण गरिएको पालिकाका अध्यक्ष मनोज प्रसाईले जानकारी दिनुभयो ।
भूमि समस्या समाधान आयोग झापाका अध्यक्ष मदन अधिकारीले तत्काल झापामा ५५० जनालाई जग्गाको धनीपूर्जा वितरण गरिने बताउनु भएको छ । दुई दिन अघि मात्र प्रधानमन्त्री केपी शर्माले कनकाई नगरपालिकाबाट जग्गाको धनीपूर्जा वितरण गर्ने कार्यको सुभारम्भ गर्नुभएको थियो । कनकाईमा १५७ जनाले जग्गा धनीपूर्जा प्राप्त गरेका थिए ।
यसैगरी, असार ३२ गते अर्जुनधारा नगरपालिकामा १३२ जनालाई जग्गाको धनीपूर्जा वितरण गरिने आयोग झापाका अध्यक्ष अधिकारीले बताउनुभयो ।
यसअघि गठित आयोगले दुई हजार ५०० भन्दा बढी धनीपूर्जा वितरण गरेको तथ्याङ्क आयोगमा रहेको उहाँको भनाई छ । उहाँका अनुसार कतिपय व्यक्तिहरुले जग्गाको राजस्व तिर्न नसकेका कारण तयार भइसकेका धनिपूर्जा समेत वितरण गर्न ढिलाइ भइरहेको छ ।
झापामा वि.सं. २०७७ यता आयोगमार्फत ५५ हजार भूमिहीन दलित, अव्यवस्थित बसोबासी र सुकुम्बासीलाई जग्गाको निस्सा वितरण गरिसकेको उहाँले जानकारी दिनुभयो ।