झापा, २ साउन । स्टेजमा चढेर ‘यो सम्झिने मन छ म बिर्सु कसरी, तिमी नै भनिदेउ हे जाने निष्ठुरी’ बोलको गीत जब उहाँले गाउनुभयो, ‘रियालिटी शो’का निर्णायक मात्र होइन, टिभीमा लाइभ हेरिरहेका लाखौं दर्शक सास बन्द गरेर उहाँको सुमधुर स्वरको जादुमा रमाए ।
दर्शकको मन मनमा बस्न सफल त्यस्तो प्रतिभा हुनुहुन्छ– विर्तामोडका अभिजित अधिकारी । सांगीतिक संसारका उदीयमान गायक अभिजित अधिकारी हाल नेपालकै चर्चित र सबैभन्दा धेरै पुरस्कार राशीको गायन रियालिटी शो ‘मेरो भ्वाइस युनिभर्स सिजन–२’ उपाधि उन्मूख प्रतिष्पर्धी हुनुहुन्छ ।
बिजेताले रु. एक करोड पुरस्कार पाउने यो गायन प्रतिस्पर्धामा अभिजितले अहिले ‘उत्कृष्ट टप–१०’ को यात्रा सहज रुपमा गरिसक्नु भएको छ । अब उहाँ त्यसभन्दा अघि बढेर उपाधि जित्ने यात्रामा अघि बढिसक्नु भएको छ ।
विर्तामोड निवासी उहाँको जन्मथलो इलामको सूर्योदय नगरपालिकाको सन्तले भन्ने गाउँ हो । गाउँको हरियाली र सुन्दर वातावरणमा हुर्किनु भएको उहाँले शिक्षा भने झापाको बुद्धशान्तिस्थित एराएभरग्रिन स्कुलबाट सुरु गर्नु भएको थियो ।
उमेरले परिपक्व १८ वर्षको अभिजित सानै उमेरदेखि पढाईसंगै गीत संगीतमा रुचि राख्नु हुन्थ्यो । स्कुलमा हुँदा प्याब्सनका विभिन्न प्रतियोगिताहरूमा सहभागी भएर उहाँले उपाधि चुम्ने सुनौलो अवसरहरु पाइसक्नु भएको छ ।
गायक अभिजितले अबको प्रतिष्पर्धामा आफूलाई थप निखार्ने र सशक्त प्रस्तुति दिने बताउनु भएको छ । यसका लागि उहाँले दर्शकको माया र हौसलासँगै भोटको अपेक्षा गर्नु भएको छ ।
पहिलो र दोस्रो चरणको भोटिङ राउन्ड पार गरेर तेस्रो चरणको प्रतिष्पर्धाका लागि तयारी गर्दै उहाँले अबको निर्णय भोटिङ राउन्डबाट हुने भएको हुँदा सम्पूर्ण आफ्ना दर्शक तथा श्रोताहरूलाई भोटमार्फत सहयोग गर्न अपिल गर्नु भएको छ ।
‘मलाई भोट गर्नका लागि नेपालभित्र रहनुहुने दर्शकहरुले आफ्नो मोबाइलको मेसेज बक्समा गई MVU टाइप गरेर एक स्पेस दिई 01 लेखेर 37000 मा मेसेज गर्न सक्नुहुन्छ,’ उहाँले भन्नु भएको छ–‘देश तथा विदेशमा रहनुभएका दर्शक श्रोताहरुले My Intra app download गरेर सो मार्फत पनि निःशुल्क र सशुल्क भोट गर्न सक्नुहुनेछ ।’
भोटिङ राउन्ड आज (शुक्रवार) राति १२ बजेदेखि सोमबार ४ बजेसम्म खुला रहने बताइएको छ ।