झापा, २ साउन । प्रहरीले झापाको मुख्य व्यापारिक केन्द्र विर्तामोडको एउटा औषधि गोदामबाट एक लाख क्याप्सुलसहित ठूलो मात्रामा भण्डारण गरिएको लागू औषध र प्रतिबन्धित औषधि बरामद गरेको छ ।
इलाका प्रहरी कार्यालय विर्तामोडका प्रहरी नायव उपरीक्षक बिजय श्रेष्ठले विर्तामोड नगरपालिका वडा नं. ५ स्थित मनकुमार संग्रौलाको दुई तले घरको भुइँतलामा दुई वटा कोठा भाडामा लिएर लागू औषध र प्रतिबन्धित औषधि भण्डारण गरेको पाइएको आज पत्रकार सम्मेलनमार्फत बताउनुभयो ।
उहाँका अनुसार बरामद भएका लागू औषध तथा प्रतिबन्धित औषधिहरुमा ट्रामाडोल हाइड्रोक्लोराइड क्याप्सुल एक लाख तीन हजार ८०० थान, ट्रामाडोल हाइड्रोक्लोराइड इन्जेक्सन एक हजार ८७० थान, ट्रामाडोल एन्ड एसिटामिनोफेन ट्याब्लेट चार हजार ५० थान, डाइक्लोमाइन एचसीएल ट्याब्लेट ९७ हजार ७०० थान, जेनेग्रा एमटी रेड ट्याब्लेट आठ हजार ९०० थान र टर्मिपिल किट्स सात हजार ६५० वटा रहेका छन् ।
प्रहरीले बराम सामग्रीसँगै पक्राउ परेका एक जना अभियुक्तलाई पत्रकार सम्मेलनमा सार्वजनिक गरेको छ । अर्जुनधारा नगरपालिका वडा नं. ६ निवासी २५ वर्षीय बिनोद घिमिरेलाई नियन्त्रणमा लिइएको प्रहरी नायव उपरीक्षक श्रेष्ठले बताउनुभयो ।
“प्रहरी टोलीले सूचना पाएको आधारमा भाडाको कोठामा पुगेर हेर्दा ठूलो मात्रामा लागू औषध र प्रतिबन्धित औषधिहरु फेला पारेको हो,” उहाँले भन्नुभयो–“नियन्त्रणमा लिइएका व्यक्तिलाई भण्डारण, ओसारपसार र वितरण कसुरमा आजै मुद्धा दर्ता गरी कार्वाहीको प्रक्रिया अघि बढाइएको छ ।”
प्रहरीले एउटा मोटरसाइकल र दुई थान मोवाइल समेत बरामदस्थलबाट नियन्त्रणमा लिएको जनाएको छ । बरामद भएका प्रतिबन्धित औषधिहरुको कार्वाहीका लागि औषधि व्यवस्था विभागसँग समन्वय भइरहेको र विभागले नै थप कानूनी कार्वाही अघि बढाउने श्रेष्ठले बताउनुभयो ।
यस आपराधिक घटनामा अरु को को संलग्न रहेका छन् भन्ने विषयमा अनुसन्धान जारी रहेको उल्लेख गर्दै उहाँले दोषीहरुमाथि कानूनी कार्वाहीमा कुनै कसर बाँकी नराखिने बताउनुभयो ।
स्थानीयबासीले लागू औषध र प्रतिबन्धित औषधि भण्डारण गरिएको कोठाहरु विनोद घिमिरे र भानुभक्त खरेलको रहेको बताएका छन् । खरेलले विर्तामोडमा सनलाइट फर्मा नामक औषधि पसल सञ्चालन गर्दै आएका छन् ।
अभियुक्तहरुले विर्तामोडको गोदाममा भण्डारण गरिएका ती सामानहरु पहाडी जिल्लाहरु इलाम, पाँचथर, ताप्जेजुङ र तेह्रथुमसम्म आपूर्ति गर्दै आएको अनुमान छ ।