४ साउन २०८२, शनिवार

‘लुपर’को प्रकोपले हल्दिबारीका चिया बगान सखाप

४ साउन २०८२, शनिवार
Image

झापा, ३ साउन  हल्दिबारी गाउँपालिकाको चिया बगानहरुमा ‘लुपर’ नामक किराको प्रकोप फैलिएको छ । हरियो पत्ती उत्पादन हुने मुख्य समयमा प्रकोप फैलिएका कारण चिया किसानहरुले यसबाट ठूलो क्षति व्यहोर्नु परेको छ ।

झापाको मध्यभागमा रहेको हल्दिबारी गाउँपालिकाको पाँच वटा वडाको लगभग एक हजार ५०० बिगाहा क्षेत्रफलमा लगाएको चिया बगानमा ‘लुपर’ किरा फैलिएको पालिकाका कृषि शाखाका प्रमुख छविलाल गुरुङले बताउनुभयो ।

“किसानहरुले किरा फैलिएको जानकारी गराउनासाथ पालिकाका अध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत र कृषि ज्ञान केन्द्रको प्रमुखसहितको टोलीले बगानहरुको अनुगमन गरेका छौं,” उहाँले प्रकोपका बारेमा जानकारी दिदै भन्नुभयो–“बगानहरु सखाप भएका रहेछन् । किसानहरुले ठूलो क्षति व्यहोर्नु परेको छ ।”

चिया किसान समेत रहनु भएको पत्रकार गोपाल गिरीले चियाको हरियो पत्ती टिप्ने मुख्य समयमा हल्दिबारीका ठूला र साना सबै चिया बगानमा ‘लुपर’ किराले महामारीको रुप लिएको बताउनुभयो ।

‘लुपर’ एक प्रकारको झुसिलकिरा वा फौजी किरा जस्तै पात र मुना खाने किरा हो । यसलाई ‘लुपर क्याटरपिलर’ वा ‘टि लुपर’ भनेर पनि चिनिन्छ । यसको माउ पुतली हुन्छ । पातमा पारेका असंख्य अण्डाबाट लार्भा निस्किएर चियाको पात खाने गर्दछ ।

चिया कृषक नवीन मैनालीले वैशाखदेखि सुरु भएको ‘लुपर’को प्रकोप साउन लागिसक्दा समेत नियन्त्रण नभएको बताउनुभयो । किराले पात खाएर चियाको बोटलाई झिक्रामा परिणत गरिदिएको उहाँले बताउनुभयो ।

किसानहरुले पालिकाको कृषि शाखा र कृषि ज्ञान केन्द्रमा परामर्श नगरी किरा नियन्त्रणका लागि जथाभावी विषादी प्रयोग गरिरहेको कृषि शाखाका प्रमुख गुरुङ बताउनुहुन्छ ।

जथाभावी विषादी प्रयोग गरिएकाले किरामा पचाउन सक्ने शक्ति बढेको हुनसक्ने उहाँले आशंका गर्नुभयो । पालिकाभरिका चिया किसान, सहकारी संस्था र उद्योगीहरुलाई पालिकामा बोलाएर प्रकोप नियन्त्रणका लागि अन्तरक्रिया गर्ने तयारी भइरहेको उहाँले बताउनुभयो ।

अनुगमनमा जानु भएका पालिका अध्यक्ष रविन्द्र लिङ्देनले रोग नियन्त्रणका लागि पालिकाले सबै किसिमको सहयोग पुर्याउने प्रतिबद्धता व्यक्त गर्नु भएको छ । उहाँले किसानहरुलाई स्प्रे ट्याङ्की दिने समेत घोषणा गर्नु भएको छ ।

चियाको बोटबाट वैशाखदेखि नयाँ पात पलाउने भएकाले वैशाखदेखि साउनको समयलाई हरियो पत्ती उत्पादनको सबैभन्दा मुख्य समय मानिन्छ । किसानहरुले यसपालीको यो समयमा चिया पत्ती टिप्न नपाएको कारण करोडौंको नोक्सानी भएको बताएका छन् ।

हल्दिबारीमा डाँफे टी प्रोसेसिङ, हल्दिबारी चिया बगान लगायत सात वटा ठूला चिया बगान छन् भने पाँच सयभन्दा बढी परिवारको निजी बगान रहेको छ । किसानहरुले सहकारीमार्फत दुई वटा प्रशोधन कारखाना आफै चलाउँदै आएका छन् ।

पत्रकार गोपाल गिरीले झापाको हल्दिबारीमा मात्र यो रोगको प्रकोप देखा परेको बताउनुभयो । यसअघि चियाको बोटमा ‘रेड स्पाइडर’ नामक कीराको प्रकोप देखा पर्ने गरेको थियो । ‘लुपर’का कारण हल्दिबारीका चिया बगान पहेलिएर सुक्न थालेको उहाँले बताउनुभयो ।