६ साउन २०८२, सोमवार

बाँसका सामग्री निर्माणमा जुटे बाहुनडाँगीका महिला

५ साउन २०८२, आइतवार
Image

झापा, ४ साउन  मेचीनगर नगरपालिका–४ की ४० बर्षीया पुष्पा विष्टको दैनिकी बाँसको जरा संकलन गर्ने र त्यसमा विभिन्न वन्यजन्तुको स्वरुप देखिने कलात्मक सामग्री निर्माणमा बित्ने गरेको छ । 

विगतमा गाउँघरमा दाउराको रुपमा प्रयोग हुँदै आएको बाँसको जराबाट हात्ती, चराचुरुङ्गी र सजावटका विभिन्न आकर्षक सामग्री निर्माणमा उहाँ लाग्नुभएको छ । 

वडा नं. ४ ले उहाँलगायत सो क्षेत्रका ३० जना महिलालाई गत बर्ष हस्तकला सम्बन्धी तीन महिने तालिम प्रदान गरेपछि उनीहरु बाँसको जरा र बाँसका सामग्री निर्माणमा जुटेका हुन् । महिलाहरुले तयार गरेका सामग्रीको बजारिकरणमा वडा कार्यालय र डिभिजन वन कार्यालय झापाले सहयोग गरिदिने वडाध्यक्ष अर्जुन कार्कीले बताउनुभयो । 

“खेर गएको बाँस र जराबाट निर्माण गरेका सामग्रीको बजारिकरणमा हामी सहयोग गर्छौं”, उहाँले भन्नुभयो, “यहाँका महिलाहरु अब यसैमा आत्मनिर्भर बन्न सक्नुहुन्छ ।” उहाँले दैनिक भारतबाट हुल बाँधेर आउने जंगली हात्तीले अन्नबाली नष्ट गर्न थालेपछि विरक्तिएकाहरुका लागि हस्तकलाका सामग्री आम्दानीको स्रोत हुने सक्ने बताउनुभयो । 

बाँसको जराबाट हात्ती, चराचुरुङ्गी, महिलाहरुले प्रयोग गर्ने गरगहना र घरेलु सामग्रीहरु निर्माणमा महिलाहरु जुटेका छन् । उहाँले वडाले गर्ने हरेक कार्यक्रममा अतिथिहरुलाई मायाको चिनो स्वरुप सोही सामग्री खरिद गरेर वितरण गर्न थालेको बताउनुभयो । 

महिलाहरुले तयार गरेको हरेक सामग्रीको मूल्य रु. एक हजार बढी रहेको छ । उनीहरुलाई हस्तकला विज्ञ निर्मल शाक्यले प्रशिक्षण दिनुभएको थियो । प्रशिक्षक शाक्यले छोटो समयमा महिलाहरुले राम्रो सीप सिकेको बताउनुभयो । उहाँले स्थानीय क्षेत्रमा बाँसको उत्पादन राम्रो हुने हुँदा कच्चा पदार्थको अभाव समेत नहुने बताउनुभयो ।