झापा, ७ साउन । राजधानी बाहिर सबैभन्दा अग्लो भवनको रुपमा चर्चित दमक व्यापारिक कम्प्लेक्स (बिजनेस टावर) सर्वसाधारणका लागि खुला गरिएपछि आन्तरिक पर्यटकको आकर्षण बढेको छ ।
दमक नगरपालिका वडा नं. ३ दापगाँछीमा निर्मित ‘बिजनेस टावर’ १६ तला र १०० मिटरको छ । यही साउन १ गतेदेखि उक्त भवन सर्वसाधारणको प्रवेशका लागि खुला गरिएको हो ।
सघन सहरी तथा भवन निर्माण आयोजना झापाका प्रशासन अधिकृत उमेश खनालले साउन १ गतेदेखि यताको ६ दिनमा दुई हजार १४५ जनाले प्रवेश शुल्क तिरेर ‘बिजनेस टावर’को दृश्यावलोकन गरिसकेको बताउनुभयो ।
‘बिजनेस टावर’मा प्रवेशका लागि प्रति व्यक्ति रु. १०० शुल्क तोकिएको छ । खनालका अनुसार साउन १ गते ४३८ जना, २ गते ३८४ जना, ३ गते ४८१ जना, ४ गते २७९ जना, ५ गते २९० जना र ६ गते २७३ जनाले टावरको दृश्यावलोकन गरेका छन् ।
सरकारले दमक व्यापारिक कम्प्लेक्स, काठमाडौंको धरहरा लगायत मुलुकका विशेष संरचनाको सञ्चालनका लागि हालै विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समितिको गठन आदेश जारी गरिसकेको छ । सहकारी विकास मंत्रालय मातहत रहने समितिले कार्यकारी निर्देशकको पदपूर्तिका लागि खुला विज्ञापन आह्वान समेत गरिसकेको छ ।
उक्त समिति क्रियाशील नहुञ्जेलका लागि सहकारी विकास मंत्रालयले हाल सघन सहरी तथा भवन निर्माण आयोजना झापालाई नै ‘बिजनेस टावर’ सञ्चालन र रेखदेख गर्ने जिम्मेवारी दिएको खनालले बताउनुभयो । कार्यालयले टावरको सञ्चालनका लागि खनालको नेतृत्वमा दश जना कर्मचारी परिचालन गरेको छ ।
उक्त टावर निर्माणमा रु. एक अर्ब ४५ करोड खर्च भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले गत मङ्सिर २३ गते ‘बिजनेस टावर’को विधिवत् उद्घाटन गर्नु भएको थियो । उद्घाटनको सात महिनापछि दृश्यावलोकन गर्न सर्वसाधारणका लागि टावर खुला गरिएको हो ।
‘बिजनेस टावर’को उचाई काठमाडौंको धरहराभन्दा बढी छ । हाल विहान १० देखि अपराह्न ५ बजेसम्म दृश्यावलोकनका लागि टावर खुला रहने गरेको छ । उक्त संरचनाको ७२ मिटर उचाईसम्म १६ तला कंक्रिटको छ भने त्यसभन्दा माथि २८ मिटर मेटलको फ्रेम टावर रहेको छ ।
व्यवस्थापकीय जिम्मेवारी सम्हालिरहनु भएको सघन सहरी तथा भवन निर्माण आयोजना झापाका प्रशासन अधिकृत खनालका अनुसार हाल टावरको १६ तलासम्म चढेर दृश्यावलोकन गर्न सर्वसाधारणलाई खुला गरिएको छ । तला चढ्नका लागि दुई वटा विद्युतीय सिढी (लिफ्ट) प्रयोगमा ल्याइएको छ ।
दृश्यावलोकन र तस्वीर खिच्नका लागि आउने आन्तरिक पर्यटकको संख्या बढ्न थालेपछि ‘बिजनेस टावर’ वरपर खाना र खाजा खुवाउने रेस्टुरेन्ट र साना पसलको व्यापार फस्टाउन थालेको छ । टावरमा शौचालयको सुविधा रहेको छ भने परिसरमा रहेको पानीको आकर्षक फोहोरा सञ्चालनमा ल्याइएको छ ।
‘बिजनेस टावर’ रहेको दमक नगरपालिका वडा नं. ३ का वडाध्यक्ष नविन बरालले सो क्षेत्रमा पर्यटकीय चहलपहल बढेको बताउनुभयो । “घुम्न, फोटो खिच्न र भिडियो खिच्न पहिले पनि मानिसहरु आउँथे,” उहाँले भन्नुभयो–“तर अहिले टावरको टुप्पासम्म चढेर टाढासम्मको रोचक दृश्यावलोकन गर्न पर्यटकहरु झुम्मिएको देखिन्छ ।”