झापा, ७ साउन । पत्रकार उद्धव पुरी ‘डी कौडिण्य स्मृति पत्रकारिता पुरस्कार’बाट सम्मानित हुनु भएको छ ।
प्रेस सेन्टर नेपालको झापा शाखाले आज विर्तामोडमा आयोजित एक कार्यक्रममा पत्रकार पुरीलाई उक्त पुरस्कार प्रदान गर्यो ।
कार्यक्रमका प्रमुख अतिथि, नेकपा माओबादी केन्द्रका केन्द्रीय सदस्य एवम् झापा इञ्चार्ज रञ्जित तामाङले दोसल्ला ओढाउँदै प्रमाणपत्र र रु. ४२ हजार नगदसहित पुरस्कार प्रदान गर्नु भएको थियो ।
प्रगतिशील पत्रकार, प्राध्यापक एवम् राजनीतिज्ञ डी कौडिण्यलाई राजाको प्रत्यक्ष शासनकालमा शाही सत्ताले गिरफ्तार गरी चारआली व्यारेकभित्रै हत्या गरेको थियो । उहाँको स्मृतिलाई जीवन्त राख्न पुरस्कारको स्थापना गरिएको हो ।
पुरस्कृत पत्रकार पुरी विर्तामोडबाट प्रकाशित हुने शब्दपत्र अनलाइनको सम्पादक हुनुहुन्छ । दुई दशकदेखि पत्रकारितामा क्रियाशील उहाँले लामो समय ब्लास्ट टाइम्समा आवद्ध रहेर पत्रकारिता गर्नु भएको थियो ।
प्रेस सेन्टर झापाको अध्यक्ष पुष्प खड्काको अध्यक्षतामा भएको कार्यक्रममा विशेष अतिथि नेकपा माओबादी केन्द्रका कोशी प्रदेश उपाध्यक्ष बिजय साम्पाङ, अतिथिहरु नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरी, सेन्टरका केन्द्रीय सचिव दिपीन राई, नेपाल प्रेस युनियन झापाका अध्यक्ष गिरिराज भट्टराई, मिडिया नेपालका झापा अध्यक्ष रञ्जित प्रसाई, प्रेस चौतारी झापाका सचिव युवराज आचार्य, जनपत्रकार संगठन झापाका अध्यक्ष प्रविण अधिकारी, नारी सञ्चार गृह झापाकी अध्यक्ष स्वस्तिका आचार्य, सहिद डी कौडिण्यकी पत्नी यमुना आचार्य लगायतले मन्तब्य ब्यक्त गर्दै पत्रकार डी कौडिण्यको राजनीतिक जीवन र योगदान बारे चर्चा गर्नु भएको थियो ।
कार्यक्रममा प्रेस सेन्टर नेपालका केन्द्रीय सदस्य राजु पाठकले कौडिण्यको जीवनी प्रस्तुत गर्नु भएको थियो भने सेन्टरका जिल्ला उपाध्यक्ष होम अधिकारीले स्वागत मन्तब्य ब्यक्त गर्नु भएको थियो ।