झापा, १४ साउन । कोशी प्रदेशमा दुई दशकमा हात्तीको आक्रमणबाट ९७ जनाको मृत्यु भएको छ भने ४१ वटा हात्ती मरेको प्रदेश वन निर्देशनालय धरानले जनाएको छ ।
निर्देशनालयका प्रमुख डा. इन्द्रप्रसाद सापकोटाका अनुसार आर्थिक बर्ष २०६२/०६३ देखि चालू आर्थिक बर्ष २०८२/०८३ को हालसम्ममा झापा, मोरङ, सुनसरी, उदयपुर र इलाममा हात्ती आक्रमणबाट उक्त मानवीय क्षति भएको हो । सोही अवधिमा ८७ जना गम्भीर र १५ जना सामान्य घाइते भएको उहाँले जानकारी दिनुभयो ।
उहाँले प्रदेशका पाँच जिल्लामध्ये हात्तीको आक्रमणमा ज्यान गुमाउनेमा सबैभन्दा बढी झापा रहेको बताउनुभयो । छिमेकी मुलुक भारतबाट आउने हात्तीको प्रवेश विन्दु झापा भएका कारण पनि धेरै जनधनको क्षति भएको उहाँले बताउनुभयो । झापामा ७२ जना, मोरङमा १६, सुनसरीमा सात, र इलामका एक जनाको हात्ती आक्रमणबाट मृत्यु भएको छ ।
उहाँले सोही अवधिमा झापामा २५ वटा, मोरङमा नौ वटा, सुनसरीमा छ वटा र उदयपुरमा एउटा हात्ती मरेको जानकारी दिनुभयो । “नेपाल सरकारको ठूलो धनराशी वन्यजन्तु संरक्षण, मानवीय क्षतिको राहत र कृषिबालीको क्षतिपूर्तिमा भइरहेको छ,” डा. सापकोटा भन्नुहुन्छ –“स्थानीयहरूले पनि वन्यजन्तुहरुसँगको द्वन्द्वमा सतर्कता अपनाउनु पर्यो ।” उहाँले सरकार जति गम्भीर छ जनता पनि त्यति नै गम्भीर हुने हो भने मानव–हात्ती द्वन्द्व न्यूनीकरण हुने बताउनुभयो ।
हात्ती आक्रमणबाट ज्यान गुमाउनेलाई नेपाल सरकारले रु. १० लाख क्षतिपूर्ति स्वरुप प्रदान गर्दै आएको छ । घाइतेहरुलाई उपचारका लागि रु. २५ हजारदेखि एक लाखसम्म उपलब्ध गराउँदै आएको उहाँको भनाई छ । उहाँले प्रदेश सरकारले मानव–हात्ती द्वन्द्व न्यूनीकरणका लागि चालू आर्थिक बर्ष २०८२÷०८३ का लागि हात्ती प्रभावित क्षेत्रमा बाली विमा कार्यक्रमका लागि भनेर रु. ५० लाख बजेट विनियोजन गरेको बताउनुभयो ।
डिभिजन वन कार्यालयमार्फत स्थानीय सरकारसँग समन्वय गरी बजेट विनियोजन गरेको हो,” डा. सापकोटा भन्नुहुन्छ –“कार्यक्रमको प्रभावकारिता र सम्भावना कस्तो रहन्छ त्यो हेरेर आगामी दिनमा संघीय सरकारसँग यसको दीगोपना एवम् कानुनी प्रावधानहरुका सन्दर्भमा सहजीकरणका लागि अनुरोध गर्छौं ।”